सरकारले घोषणा गर्यो इन्डक्सन चुलो र विद्युत् महसुलमा छुट, कति पाइन्छ छुट ?

काठमाडौं, १४ चैत्र । सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार तत्काल कार्यान्वयनमा आउने गरी खाना पकाउने प्रयोजनमा इन्डक्सन प्रयोगकर्तालाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यसअनुसार मासिक १५० युनिटसम्मको खपतमा ग्राहकलाई कम्तीमा एक महिना यस्तो छुट दिइनेछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका बेला इन्डक्सन चुलोको प्रयोग बढाउने गरी महसुलमा छुट दिने सैद्धान्तिक निर्णय गरेको थियो ।

सोहीअनुरूप अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बिहीबारको वैठकले १५० युनिटसम्मको खपतमा ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।