कोरोना प्रभावित व्यवसायीको सावाँ र ब्याज असुली स्थगित

काठमाडौं, १३ चैत । सरकारले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित व्यवसायीको ऋणको सावाँ र ब्याज असुल नगर्न निर्देशन दिएको छ ।

अर्थ मन्त्री प्रमुख रहने उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले कोरोनाको कारण असर परेका व्यापार व्यवसायको पहिचान गरी चैत महिनाभर सावाँ र ब्याज असुल नगर्न निर्देशन दिएको हो ।

अब राष्ट्र बैंकले निर्देशन प्रकाशित गरेपछि यो नियम कार्यान्वयनमा आउनेछ । यस्तै वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने काम पनि तत्कालको लागि स्थगित भएको छ ।

यस्तै कारोनाको कारण उपभोग्य वस्तुको अभाव हुन नदिन देशमै उत्पादन बढाउन प्रोत्साहन गर्ने र उत्पादनमा लाग्ने मझौला तथा साना व्यवसायलाई दिइने सहुलियत ऋण अझै प्रभावकारी बनाउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ । त्यसको लागि सरकारले ब्याज र बीमा प्रिमियम भुक्तानीको लागि आवश्यक रकम अर्थ मन्त्रालयले सुनिश्चित गर्ने भएको छ ।