कोरोनाबिरूद्धको लडाई हावादारी तालले जितिन्न, नेपाल ईटाली बन्न सक्छ

– भीम उपाध्याय

१,कतार र अरेबियाबाट आएका २ जना मान्छेमा कोरोना संक्रमण पत्ता लगाएको, प्लेनमा संगसंगै आएका यात्रूहरू खोजेर सबै काम सकाई ठूलो काम फत्ते गरेको जस्तो गर्ने, एउटा संक्रमित भेटिदा महान उपलब्धिझैं गरी सम्बन्धित अस्पतालका प्रमुखसमेतले जानकारी नपाएको कुरा भन्न मन्त्री आफै पत्रकारसंग बोल्न तम्सिएको मात्र देखियो।

२, मूख्य कुरा बिदेशबाट आएको ब्यक्तिमा कोरोना भेटिएको हो भने पहिला त्यो मान्छे जहाजबाट झरेर अध्यागमनमा आउँछ, त्यहाँ अध्यागमनले उसँग हातहातै पासपोर्ट लिएर आगमन छाप हानेपछि उ भन्सार हुँदै जान्छ र त्यसपछि त्यहाँ पनि चेकजाँच गराएर बाहिर निस्कन्छ।

३, ती जहाजहरूबाट आएकी १९ बर्षे नानी र धादिङका ३२ वर्षिय युवक एयरपोर्टमा झरेपछि सुरूमा अध्यागमनमा आएर अध्यागमनको कर्मचारीलाई पासपोर्ट र बोर्डिङ पास दिदा नै त्यो कर्मचारीलाई सरिसकेको हुनसक्छ, अनि भन्सारमा जाँदा भंसार कर्मचारीले यात्रूको ब्याग, शरीर कपडा चेक गर्छ। तिनलाई पनि सरिसकेको हुन सक्छ।

४, अहिले पनि संक्रमितबाट हातहातै पासपोर्ट लिएर समाएर छाप हानेर पठाउने अध्यागमनका कर्मचारीहरू अफिस आईरहेका छन्, तिनीहरूबाट अन्य कर्मचारीहरूमा सरिसकेको हुन सक्छ तर सरकार भने ती प्लेनका अन्य यात्रू कहॉ छन् मात्र भनेर खोज्दैछ । यस्तो अवस्थामा ती कर्मचारीलाई तुरून्तै आईसोलेसनमा हाल्नुपर्ने हो । एऊटै अफिसमा बस्दा फेरी डेक्स कहिले कुन कहिले कुन ठाउँमा हुने हुँदा र कहिले एराइभल र कहिले डिपार्चर मा ड्युटी बस्दा सम्पर्कमा आएका वा अहिले पनि आईरहेका अरू यात्रूहरू वा सहकर्मीहरूलाई पनि सर्दै गएको हुने संभावना छ, यसरी एराइभल र डिपार्चरका कर्मचारीको सम्पर्कमा आएका हजारौं अन्य यात्रूहरूलाई र सयौं सहकर्मीलाई सरिसकेको हुनसक्छ । एराइभल डिपार्चरमा लाग्ने लाईन र लगेज कलेक्सन गर्ने ठाउँमा हुने यात्रूहरूको ठेलम् ठेल पनि कम जोखिमपूर्ण छैन।

५,अध्यागमन र एयरपोर्टका सबै कर्मचारीलाई एक पटक परीक्षण नगरे वा हटाएर आईसोलेशनमा नराखे अब कोरोना यहीबाट फैलिने डर बढेको छ। अध्यागमनका कर्मचारीबाट उनीहरूका परिवारमा र घर आउदा जादा बाटामा सम्पर्कमा आएका अरूहरूलाई पनि पक्कै सरिसकेको हुन सक्छ। यस्तो ग्राउण्ड रियालिटिमा ध्यान नदिई प्लेनका यात्रूहरू मात्र फोकस गरी खोजिदैछ।

एयरपोर्टका अध्यागमन, भंसार र अन्य कर्मचारीहरूलाई कोरोनबाट जोगाउने कुनै बिशेष ब्यबस्था पनि गरिएको छैन। अध्यागमनले आउने सबै यात्रूलाई छाप हानेका हुन्। त्यसअघि कुनै परीक्षण हुने गरेको थिएन। त्यसमाथि एयरपोर्टमा कर्मचारी र यात्रूलाई न स्यानिटाईजर न मास्क उपलब्ध गराईएको छ। संक्रमित ब्यक्तिसंग सम्पर्कमा आएका बस वा ट्याक्सी वा होटेलका मानिसहरू पनि ठूलो जोखिममा पक्कै परेका हुन सक्छन्। गंभिर कुराहरू यस्ता छन् तर सरकारका मन्त्री, सचिव कसैलाई कुनै मतलव छैन । स्वास्थ्य मन्त्री र त्यहॉका अधिकारीहरू पत्रकार सम्मेलन गरेर हावादारी तालमा हावा कुरा मात्र बोलिरहेका छन्, यस्ता कामगराईले डाक्टर र स्वास्थ्यकर्मीहरू पनि बेस्सरी चिढिएर आजित छन्।

यसरी त अध्यागमन एयरपोर्टमा कार्यरत १६० जना कर्मचारीबाट तिनका मित्र, परिवार र अन्य सम्पर्कमा आएका बाहिरिने भित्रिने यात्रूहरूमा सर्यो भने काठमाण्डौं उपत्यका छिट्टै ईटाली बन्दैन भन्न सकिन्न।

अब के गर्ने त ?

सबै स्वास्थ्यकर्मीहरुलाई यो संकटको समयमा सरकारले पिपिइ ब्यबस्था गरिहाल्नु पर्छ। त्यसको ब्यवस्था नहुँदासम्म स्वास्थ्यकर्मीलाई रोगीको सम्पर्कमा नरहन भन्नुपर्छ वा बिदा दिनुपर्छ। कोरोना परीक्षण गर्ने कीट पनि उपलब्ध हुन सकेको छैन। सिघ्र खरिद गर्न पनि खास पहल गरिएको देखिएको छैन । सबै भिड सुबिधारहित अस्पतालमै लागेको छ। सबै जना लकडाउन भनेर घरघरमा बस्न पाएका छन् तर समस्या सबै असुरक्षित स्वास्थ्यकर्मीहरुले मात्रै झेल्नु पर्ने हुन थालेको महसूस गर्दैछन्। स्वास्थ्यकर्मी र तिनका परिवारजन कुनै हालतमा पनि सङ्क्रमित नहुन् भनेर टप क्लासको तयारी पूर्वब्यवस्था गरिहाल्नुपर्यो।

स्वास्थ्यकर्मीहरूमा सुरक्षाभाव र आत्मविश्वास दृढ पार्नु अहिले ठूलो खाँचो छ । मनोबल गिरेको अबस्थामा स्वास्थ्यकर्मीहरूले रोगीको सेवा दिन सक्दैनन्। यसमा हामी सबै संवेदनशील हुनैपर्छ। डाक्टर समुदायको कुरा सुनेर काम गर्नु नै सरकारको पहिलो जिम्मा तथा काम भएको छ। यसबेला यो भन्दा ठूलो जिम्मेवारी कुनै पनि मुलुकमा पनि अर्को छैन।

कोरोनाबिरुद्धको लडाइँमा सरकारको निर्देशन अक्षरश कुनै आनाकानी नगरी पालन गरौं। यो लडाइं हाम्रो अस्तित्वसँग सम्वन्धित छ। ज्यान नरहने सम्मको लापरवाही भुलेर पनि गर्न हुँदैन, सुक्ष्म जिनयवाणूले कथित विवेकी मानवजातिलाई पाठ पढाईकहेको छ।

यस्तो संकटको संगीन बेलामा सरकारले गर्नुपर्ने सबै काम उसको क्षमताको अधिकतम् न्वारानदेखिको बल लगाएर उचित तथा बैज्ञानिक पद्दति अपनाएर गरिरहेको छ भन्ने जनताले महसूस गरिरहेको हुनुपर्छ।

हामीले सरकारका त्रुटि र कमजोरीहरूको भने कडा शब्दमा, कानको जाली फुट्ने गरी सुनाउन, बोल्न, लेख्न भने कुनै हालतमा हिच्किचाउन हुँदैन। त्यो बिरोध हैन, आलोचना हो भनेर नागरिकले पनि आफ्नो कर्तब्य निर्भिक निडर र जिम्मेवार भएर बुझ्नुपर्छ। । मुलुक प्रत्येक जनताको हो। सरकारले जनताको सुरक्षा प्रभावकारी ढंगमा गर्नैपर्छ। यदि उ गर्न सक्दैन भने आफू तुरून्त हट्नुपर्छ, अर्को आएर गर्छ। यसमा जनता प्रष्ट हुनुपर्छ।
(उपाध्याय पूर्व सचिव हुनुहुन्छ )