२४ घन्टामा विश्वभर कोरोनाका कारण करिब २ हजार ४ सयको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्युदर ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर कोरोना भाइरस संक्रमणका कारण २ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको इटलीमा मात्र पछिल्लो २४ घन्टामा ७ सय ४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १ सय ४२ ले बढी हो ।

इटलीमा मात्र कोरोना भाइरस संक्रमणका कारण ६ हजार ८२० जनाको मृत्यु भएको छ ।

यता अमेरिकामा मंगलबार हालसम्मकै बढीले ज्यान गुमाएका छन् । अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाका कारण २ सय २२ जनाको मृत्यु भएको छ भने ११ हजाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

अमेरिकामा हालसम्म ५४ हजार ८ सयमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ भने ७ सय ७५ जनाको मृत्यु भएको छ ।

यता स्पेनको अवस्था पनि झन खराब हुँदै गएको छ । स्पेनमा २४ घन्टामा ६ सय ८० जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।

यता फ्रान्समा २ सय ४० जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १ हजार १ सय पुगेको छ । इरानमा १ सय २२ जनाले ज्यान गुमाएका छन् । इरानमा हालसम्म १ हजार ९ सय ३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

विश्वमा कोरोना भाइरसका कारण ४ लाख २२ हजार संक्रमित भइसकेका छन् । जसमध्ये १८ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ४३ हजार ७ सय जना नयाँ संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ ।