निजी क्षेत्रको भूमिका किन कमजोर ?

काठमाडौं, ८ चैत्र । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले अनेक सुरक्षा अपनाए पनि मुलुकको महत्वपूर्ण मानिएको निजी क्षेत्रका विभिन्न संघसंस्थाले अझैसम्म यस्तो संक्रमणबाट बच्न कुनै प्रभावकारी काम गर्न सकेका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतका व्यावसायिक प्रतिनिधिमूलक संस्थाले यस्तो संक्रमणबाट बच्न आफैं भने कुनै प्रभावकारी काम गर्न नसकेका हुन् ।

पछिल्लो समय कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको धक्काको प्रभाव नेपालमा पनि थप बढ्दै गएको र यसको असरबाट आफूहरु पीडित भएको भन्दै सरकारसमक्ष विभिन्न किसिमका राहत प्याकेज माग्न एकजुट भएका निजी क्षेत्रका प्रमुख संस्थाले कालोबजारी नियन्त्रणमा भूमिका खेल्नुको साटो मौनता साँधेर शंकास्पद व्यवहार देखाएका छन् ।

कोरोना भाइरसको सम्भावित जोखिम देखाएर कालोबजारी मौलाउँदासमेत निजी क्षेत्रका विभिन्न संघसंस्था मौन छन् ।
यस्तो विपत्तिको बेला निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंस्थाले ग्याँस अभाव र अन्य कालोबजारी नियन्त्रणका लागि पनि अहिलेसम्म खासै केही गरेका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बरअफ कमर्सले केही माक्स दिएर सरकारसँग सहकार्य गरेजस्तो मात्र गरे पनि कालोबजारी नियन्त्रणमा यस्ता संस्थाहरुले नै अग्रसरता अपनाएर सरकारलाई सहयोग गर्नुपर्नेमा खासै प्रभावकारी काम गरेको देखिएको छैन ।

गत बुधबार उद्योग वाणिज्य महासंघले सरकारलाई १० हजार थान मास्क र ३ सय थान पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट प्रदान गरेको थियो । यस्ता संस्थाले कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न केही गरेका देखिएकै छैन । उनीहरुले आफ्नो तर्फबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वसमेत बहन नगरेको सम्बन्धित सरोकारवालाको भनाइ छ । अहिले यस्ता व्यावसायिक संस्थाले के कसरी आफूहरुलाई फाइदा हुने काम गर्न सकिन्छ भनेर मात्र सरकारको ध्यानाकर्षण गराइरहेको अवस्था छ । यो समाचार आजको राजधानी मा छ ।