प्रधानमन्त्रीद्धारा चैत्र ९ देखि २१ सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गर्नुभएको छ ।

यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने पनि जनाउनुभयो । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि आह्वान गर्नुभयो । बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै उहाँले यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाई मार्गबाट नेपाल आगमनमा रोक लगाइने पनि उल्लेख गर्नुभयो । सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को विशेष विपद् कोषका लागि नेपालका तर्फबाट रु १० करोड उपलब्ध गराउने पनि घोषणा गर्नुभयो । गत चैत फागुन २१ गते त्रिभुवन विश्वविद्यालयमा मिर्गौला प्रत्यारोपण गरी फागुन ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गर्दा आफूलाई आत्मबल भएको भनी उल्लेख गरिएको थाहा पाएकाले त्यस्तै आत्मबल बनाउन पनि आग्रह गर्नुभयो ।

उच्च मनोबल र आपसी एकताले भाइरसको महामारी रोकौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गर्नुभएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको पनि जानकारी गराउनुभयो ।

उक्त सम्बोधनको पूर्ण पाठ :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपार्इंहरुसामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको सङ्क्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस सङ्क्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौँ ।

नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैँ उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकाले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यस क्रममा मेरै नेतृत्वमा पाँचवटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्धार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि मैले, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्यसचिवको नेतृत्वमा रहेको कार्यान्वयन समितिमार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्रमार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित सङ्क्रमणलाई परास्त गर्न हामीसँग यसबाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपार्इंहरुले भरोसा गर्नुभएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु–

ड्ड सरसफाइमा उचित ध्यान दिनुहोस् साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।

ड्ड भीडभाडबाट टाढै रहनु होस् ।

ड्ड सकेसम्म घरमै बस्नुहोस् ।

ड्ड अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस् ।

ड्ड हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस् ।

ड्ड चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस् ।

ड्ड धैर्यवान् हुनुहोस् र संयमता अपनाउनुहोस् र

ड्ड सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

सङ्क्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई सङ्क्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाइहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्षरूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायत जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवा प्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । तर सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।

सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारीसाधनहरू आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारवाहीसमेत गरिने स्पष्ट पार्दछु, ।

विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा सङ्कुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

तपार्इं हाम्रै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी केही क्षेत्रमा निम्नानुसारका उपायहरु लागू गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ ।

– नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

– सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिनेछ ।

– देशैभर सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

– आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

– मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

– विद्यालय तथा विश्वविद्यालयका पठनपाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

=महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ ।

संसद्मा प्रस्तुत एवं एकमतले पारित गरिएको सङ्कल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिङ्गो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै सङ्घ÷संस्थाहरु र आमसञ्चारजगत्समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आह्वान गर्दछु ।

मुलुक बाहिर ठूलो सङ्ख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरु रहँदै आउनुभएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईंहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आपूm रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईंहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।

म अस्पतालबाट ‘डिस्चार्ज’ भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आह्वान गर्नुभएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेेसमेत जानकारी गराउँदछु । यस महामारीसँग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तरराष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौँ ।

तपार्इंहरूकै सहयोगमा विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौँ । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, सङ्घसंस्था, दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रहरूलगायत अन्तरराष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबै प्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्रराष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु ।

मिर्गौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनुभएको मैले सुनेको छु । यस घडीमा मुलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।

विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई हामीले दृढताका साथ सामना ग¥यौँ । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।