तापक्रम जाँच पछि मात्र मन्त्री र सांसदहरुलाई संसद प्रवेश

काठमाडौं, ६ चैत्र । संघीय संसदका सांसदहरुलाई आजबाट शरिरको तापक्रम जाँचेर मात्र बैठकमा प्रवेश गराइएको छ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको आजको लागि डाकिएको बैठकमा सहभागि हुन आएका मन्त्री र सांसदहरुलाई संघीय संसदकै एक चिकित्सक टोलीले आज तापक्रम परीक्षण गरेपछि मात्र सांसदहरुलाई प्रवेश गराएका हुन् ।
कोरोना भाइरस(कोभिड–१९)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै संघीय संसदले पनि आजबाट विशेष सतर्कता अपनाउन शुरु गरेको हो ।

संघीय संसदका चिकित्सक टोलीले बिहीबारको वैठकमा प्रवेश गर्न लागेका सांसदहरुलाई टाढैबाट तापक्रम मापन गरिने यन्त्र(टेम्प्रेचर गन)ले शरिरको तापक्रम परीक्षण गरेका थिए । डा.पुष्पराज रिजाल नेतृत्वको चिकित्सक टोलीले विश्वव्यापी खतराको रुपमा रहेको कोरोना भाईरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै आजदेखि बैठकमा सहभागि हुन आउने सांसदहरुलाई समेत चेक जाँच शुरु गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बुधबारको बैठकले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सावधानी अपनाउने निर्णय गरेको थियो ।

सो निर्णयानुसार आगामी ३० अप्रिल, सन् २०२० सम्मका लागि शैक्षिक संस्था बन्ददेखि, खेल मैदान, सिनेमा हल, हेल्थ क्लव, डान्सबार, स्विमिङ पुललगायत बन्द गर्ने निर्णय गरेको थियो ।
अत्यावश्यक काम बाहके सार्वजनिक स्थल, सांस्कृतिक केन्द्र, पार्टी प्यालेसलगायत कुनै पनि सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी व्यक्ति भेला तथा जमघट हुन नदिने निर्णय समेत गरेको थियो ।
नेपाल सरकारले पनि हिजै सोही रोगको जोखिमलाई ध्यान दिदैँ आजबाट शुरु हुन लागेको एसइई परीक्षा तथा चैत महिनाभरी सञ्चालन हुन लागेका सबै शैक्षिक परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो ।