कोरोना भाइरसप्रति सावधानी अपनाउन नेकपाको अपिल

काठमाडौं, ६ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सावधानी अपनाउन सरकारलाई आग्रह गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएकोमा चिकित्सक टोली र मिर्गौलादातालाई धन्यवाद पनि दिइएको छ।

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुनुअघि नेकपाको सचिवालय बैठक बसेको थियो। सो बैठकले ओलीको स्वास्थ्य लाभको कामना गरेको थियो। बुधबार बसेको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिद्वारा गरिएको एसइई परीक्षा रोक्नेलगायत अन्य महत्वपूर्ण निर्णयहरूप्रति सरकारको प्रशंसासमेत गरेको छ।

अघिल्लो सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन नभएको अवस्थामा बसेको बैठक राजनीतिक विषयमा प्रवेश गरेन। अघिल्लो बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय गरेको थियो। त्यसैगरी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदनबारे पनि कुनै छलफल भएको छैन। राष्ट्रियसभामा गौतमको मनोनयनबारे प्रधानमन्त्री ओली नै असन्तुष्ट थिए। राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सिट खाली छ।