मास्क र सेनिटाईजरको कालोबजारी गर्ने एक महिलासहित तीन पक्राउ

काठमाडौं, ६ चैत्र । काठमाडौंका विभिन्न स्थानबाट मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ बस्दै आएका ३५ वर्षीय रुपेश रौनियार, टोखा बस्ने २५ वर्षीय पुरुषोत्तम अधिकारी र गौरीघाट बस्ने ३० वर्षीया मिना घिमिरे रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाबाट बुधबार गोप्य सूचनाका आधारमा खटिएको टोलीले मास्क र सेनिटाइजर कालोबजारी गर्ने उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको एसपी ईश्वर कार्कीले जानकारी दिए ।

उनीहरुको साथबाट मास्क ११ हजार ४ सय ५५ थान र सेनिटाईजर जम्मा १ हजार ५ सय ५ बोतल बरामद गरेको उनले बताए ।

पक्राउ परेकाविरूद्ध कालोबजारी तथा अन्य सामाजिक अपराध कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।