विद्यालय र विश्वविद्यालय बन्दगर्ने सरकारको निर्णय, सिनेमा हल र हेल्थ क्लव पनि बन्द गरिने

काठमाडौं। सरकारले विद्यालय र विश्वविद्यालयको सम्पूर्ण पठनपाठन आगामी चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले कोरोना भाइरसको सम्भावित महामारीबाट रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई समेत आगामी वैशाख १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिँडडुल नगर्न सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ । त्यस्तै सो बैठकले पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने निर्णय समेत गरेको छ।

त्यसैगरी सरकारले युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई यही चैत ७ गते रातिदेखि लागू हुने गरी आगामी वैशाख ३ सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।