वायुसेवा संचालक संघले एक विज्ञप्ति जारी गर्दै इन्धनको मुल्य समायोजन हुनुपर्ने माग

काठमाडौं, ५ चैत ।  वायुसेवा संचालक संघ नेपालले विश्व बजारमा घट्दै गएको मुल्यअनुसार हवाई इन्धनको मुल्य समायाजन हुनुपर्ने माग गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले चैत ४ गतेबाट लागु हुने गरी हवाई इन्धनको मुल्यमा प्रति लिटर ४.५० घटाउने निर्णय भएको तर्फ संघको ध्यानाकर्षण भएको जनाएको हो ।

कोरोना भाइरस संक्रमणको प्रत्यक्ष मारमा परेका नेपालका वायुसेवा कम्पनीहरुलाई राहत दिनका लागि अन्तर्राष्ट्रिय बजारमा घटिरहेको कच्चा तेलको मुल्यमा न्यूनतम नाफा (लिटरको १० भन्दा कम) राखि मुल्य समायोजनका लागि पटक पटक अनुरोध गरिएकोमा चैत ४ गतेबाट लागु हुने गरी समायोजन गरिएको ४.५० मुल्यले मौजुदा परिस्थितिमा कुनै राहत नपुग्ने संघले बताएको छ ।

हवाई उद्योगलाई केहि हदसम्म जोगाउन आन्तरिक हवाई यात्रुहरुको संख्या बृद्धि गर्न जरुरी रहेकोले यसका लागि हवाई यात्रालाई अझ सस्तो बनाई सर्वसाधारणको पहुँचमा पुर्याउन अन्तर्राष्ट्रिय बजारमा घट्दै गएको मुल्य अनुसार मुल्य समायाजन गर्ने व्यवस्था मिलाई दिन संघले अनुरोध गरेको छ ।

साथै, ३ हप्ता बराबरको नगद धरौटी राख्नु पर्ने व्यवस्थाको सट्टा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ श्रेणीका बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी धरौटीको रुपमा स्वीकार्य गरी कारोबार गरी दिनका लागि पटक पटक अनुरोध गरेकोमा हालसम्म पनि कुनै सुनुवाई नभएकाले कहिले देखि यो व्यवस्था लागु हुने बारे पनि जानकारी माग गरेको जनाएको छ ।

नेपाल आयल निगमले चैत ४ गतेबाट लागु हुने गरी इन्धनको मुल्यमा समायोजन गरेको छ ।