सिंहदरवारमै अग्नी र गणेशको भनाभन

काठमाडौं, ५ चैत्र । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्नेमात्रै हो ।

महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । नयाँ महासचिव सिफारिसबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले डेढ महिनाअघि सभामुख निर्वाचित अग्नी सापकोटासँग कुरा गर्न चाहेका थिए ।

अग्नीले आइतबार मनोहर अवकासमा जाने दिन गणेश तिम्सिनालाई बोलाएर भने, ‘साथीहरुले अहिले गोपाल योगीलाई कार्यवाहक बनाऔँ भन्नुभएको छ ।’ गणेश बम्किए, ‘यस्तो मनलाग्दी नगर्नुहोस् न कमरेड, सिस्टम हुन्छ, पार्टी छ, सल्लाह गर्नुपर्छ । अन्तिम समयमा यसो गर्ने भइयो भनेर म तपाईंको बोधार्थ बुझ्न बसेको हुँ र ?’