नेपाल पुनर्बीमाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ४ चैत । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ छ। कम्पनीले डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन तथा बिक्री खुला हाे । निष्काशन गरिएकाे आईपीओमा प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता बिक्री गरिनेछ ।

कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेकाे हाे । कम्पनीले निष्काशन गर्न लागेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते हुनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गर्दछ।