भक्तपुरमा ऐतिहासिक विकासका कामहरु तिव्र गतिमा अघि बढेको छ : सांसद बस्नेत

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको महान् अभियानलाई सार्थकता तुल्याउन मन्त्रालयले व्यवस्थित योजना बनाई अघि बढ्नपर्नेमा जोड दिँदै योजनालाई कार्यान्वयन गर्न मैदानमा खट्ने जिम्मा निर्वाचित जनप्रतिनिधिले लिने उद्घोष गर्नुभएको छ ।

संघीय सरकारको रु. चार करोड ५० लाख रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा निर्माण सम्पन्न भएको पक्की कालोपत्र सडकको सोमबार अनुगमन एवं उद्घाटन गर्दै उहाँले वर्तमान भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापीत हुँदै जानुभएको उल्लेख गर्दै मन्त्री नेम्वाङको नेतृत्वले १०० दिनमा गरेको विकासका कामले ऐतिहासिक सफलता हासिल गर्न सफल भएको र आगामी दिनमा अझ वढी व्यवस्थित र प्रभावकारी योवना तथा त्यसको कार्यान्वयन आवश्यक रहेको औंल्याउनुभयो ।

भक्तपुरमा ऐतिहासिक विकासका कामहरु तिव्र गतिमा अघि बढेको बताउँदै सांसद बस्नेतले चाँगुनारायणको प्रत्येक वडामा जाने सडक कालोपत्र गर्ने अभियान सुरु भएको बताउँदै अबको तीनवर्षमा चाँगुनारायण विश्व कै उत्कृष्ट शहर बन्ने दाबी गर्नुभयो ।

“एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दैछ, सातसय रोपनीमा वीर अस्पताल बन्दैछ, चाँगुनारायण इन्जिनियरिङ्ग कलेज नगरपालिकाले चलाउँदैछ, झौखेल चाँगुको ज्योर्तिलिङ्गेश्वरमा ९ करोडको बजेटमा सडक कालोपत्र हुदैछ”—सांसद बस्नेतले भन्नुभयो “रातो किताबमा भर्खरै २० वटा सडकका योजना थप गरेका छौ, करिब ४५ करोड अर्थमन्त्रालयबाट थप गरेर भक्तपुरमा ल्याउन सफल भएका छौ ।”

सरकारले भक्तपुरलाई सडकमा जम्मा रु. ३५ करोडको मात्रै सिलिङ्ग तोकेकोमा असन्तुष्ट व्यक्त गर्दै उहाँले सरकारले सडकका लागि कम्तीमा एक अर्ब रुपैया बजेट दिए, यही बजेटमा सबै सडक निर्माण र कालोपत्र गरिदिने बताउनुभयो ।

उहाँले झौखेल दुवाकोटमा नमूना सडक निर्माण हुन लागेको, खस्र्याङ्ग खुर्सुङ्ग खोलामा २० मिटर चौडाको करिडोर निर्माण हुन लागेको, चाँगु ईन्जिनियरिङ्ग कलेज, झौखेल, खरिपाटी, सुडाल ताथली जाने सडकको डिपिआर तयार भएको बताउदै ठूला सडक निर्माण गर्दा ल्याण्ड पुलिङ्गको अवधारणबाट जान सके व्यबस्थित शहर निर्माण हुने र जग्गा धनीलाई पनि मर्का नपर्ने उहाँको भनाई थियो ।

सडक बने पनि बिच बाटोको पोल नहट्ने गर्दा निकै समस्या आएको बताउदै उहाँले पोल सार्ने नाममा प्राधिकरण भित्र व्यापक भ्रष्टाचारको खेलो भएको आरोप लगाउनु भयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो– “सडकमा बिजुलीको एउटा पोल सार्न प्राधिकरण ५ लाखको बजेट लाग्छ भन्छ, सडकको बिचमा भएको त्यही पोल अलि पर सार्न त्यतिका रकम कसरी लाग्छ, हामी एउटा पोल पाँच हजारमा सार्छौ, आवश्यक परे नगरपालिकाले पोल किन्छ, एमडी साहेब सडकमा रहेको देशभरीका पोल नसार्नुको कारण के हो ?” भौतिक योजना मन्त्रालय र शहरी विकास मन्त्रालयकाबीच समन्वय नहुँदा पनि समस्या आएको उहाँको भनाई छ ।