कोरोनाको कारण नेपाल–भारत चल्ने बसमा रोक

जनकपुर ,३ चैत । कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ ।

कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा आजदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए । कोरोनाको सङ्क्रमण नेपालमा हाल सम्म नदेखिए पनि भारतमा भने असर देखिसकेको हुदा नेपालद्धारा यो कदम चालीएको हो ।