आहा रारा गोल्डकप: आज उपाधिका लागि मनाङ र पुलिस भिड्दै

काठमाडौं, १ चैत । विभागीय नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज भिड्दै छन् ।

उपाधिका लागि प्रतिस्पर्धा गरेका पुलिस र मनाङ डेढ दशकपछि पुनः फाइनलमा भिड्ने भएका हुन् ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुनेछ ।

यसअघि वि.(सं. २०५८ को क्याराभान गोल्डकप तथा वि.सं. २०६० को दोस्रो र वि.सं. २०६१ मा आयोजना भएको तेस्रो संस्करणको आहा रारा गोल्डकपको फाइनलमा यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । क्याराभान पुलिस तथा दोस्रो र तेस्रो संस्करणको उपाधि मनाङले जितेको थियो ।