फुटेपछि फेरि जुट्यो राप्रपा, कमल थापाले गीता छोएर खाए ‘कसम’

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने ‘कसम’ खाएका छन्। कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको हो ।

एकता घोषणासभालाई सम्बोधनका क्रममा भगवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

अहिले सभालाई अर्का अध्यक्ष पशुपति शम्शेर जबरा, र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरिरहेका छन्। दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो ।