बम बिस्फोटबारे बोले विप्लव, यी हुन् बाँस्कोटाको घरमा बम विस्फोट गराउनुका विप्लवका १० कारण

भक्तपुर, २८ फागुन ।पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम बिस्फोटको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । भक्तपुरको मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधिन घरमा भएको बिस्फोटको जिम्मा विप्लव नेकपाले लिएको हो ।

नेकपाले सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस खरिदलगायतका काण्डमा करोडौं भ्रष्टाचार गरेको भन्दै कारबाही गरेको जनाएको छ । विप्लव नेकपाले बाँस्कोटामाथि विभिन्न १० कारण औंल्याउँदै कारबाही गरिएकाे बताएकाे हो । विस्फोटकस्थलमा छरिएको पर्चामा बिस्फोट गराउनुको कारणबारे बोलिएको छ ।

यस्ता छन् बाँस्कोटा निवासमा बम बिस्फोट गराउनुका विप्लवका १० कारण

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।

२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाले ।

६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।