माछापुच्छ्रे बैंकका सीईओ शर्माले दिए राजीनामा, कामुको जिम्मा सन्तोष कोईरालालाई

काठमाडौं, २८ फागुन । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्माले राजीनामा दिएका छन् । फागुन ३० देखि लागू हुने गरी उनले राजीनामा दिएका हुन् ।

उनको राजीनामा बैंक सञ्चालक समितिले गत शुक्रबार नै स्वीकृत गरेको छ । सञ्चालक समितिले चैत १ गतेदेखि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालालाई दिएको छ ।

कोइराला सोही बैंकमा साढे दुइ वर्ष अघिदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । त्यसअघि २ वर्ष नायव महाप्रबन्धक थिए । नायव महाप्रबन्धक र नायव प्रमुख कार्यकारी अधिकृत गरी बैंककाे दाेस्राे बरियतामा बसेर उनले साढे ४ वर्ष जिम्मेवारी समालेका छन् ।

सन् २००० मा बैंक अफ काठमाण्डूबाट बैकिङ करिअर शुरु गरेका कोइरालाईसँग बैंक अफ काठमाण्डू, सानिमा र माछापुच्छ्रे बैंकमा करिब २० वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका कोइरालासँग बैंक सञ्चालन, व्यवसाय विस्तार, जोखिम न्यूनिकरण, सञ्चार, विश्लेषण र नेतृत्व विकासका क्षेत्रमा राम्रो ज्ञान भएको बैंकले जनाएको छ ।

पछिल्ला वर्षमा माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतमा छिटोछिटो परिवर्तन देखिएको छ । तुलसीराम गौतमले ४ वर्ष कार्यकाल पूरा गरी छोडेपछि बनेको प्रमुख कार्यकारी अधिकृतहरुले कार्यकाल पूरा नगर्दै छोडेका छन् । गौतमपछि निरज श्रेष्ठले पनि कार्यकाल पूरा नगर्दै बैंक छोडेका थिए भने सुमन शर्माले पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा २३ महिना मात्र बिताएका छन् ।