राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणा आज

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज एकता घोषणा हुँदैछ ।काठमाडौंको राष्ट्रिय सभागृहमा आज एक कार्यक्रम आयोजना गरी दुई पार्टीले विधिवत रुपमा एक भएको घोषणा गर्दैछन् ।

एकीकरणसम्बन्धी आधारपत्रमा राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तथा राप्रपाका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीमा तिनै जना अध्यक्ष रहनेछन् भने पार्टीको महाधिवेशन डेढ वर्षभित्र गरिनेछ । अहिले राप्रपाको झण्डालाई नैं नयाँ दलको झण्डाको रुपमा प्रयोग गरिनेछ ।

चुनाव चिह्न पछि तय गर्ने सहमति भएको छ । एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र, शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नेछ ।

दुई राप्रपाबीच दुबै दलको विधानलाई मिलाएर एकीकृत विधान बनाउने सहमति भएको छ । एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका सम्झौतालाई मान्यता दिइनेछ ।

तत्कालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ ।