यस्तो रह्यो मिस वर्ल्ड टोनीको हेलम्बु यात्रा (फोटोफिचर)

सिन्धुपाल्चोक । २०१९ की मिस वर्ल्ड टोनी एन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आएकी छन् । मिसनेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र पुर्व मिस नेपाल श्रृङखला खतिवडासहित मिस वर्ल्ड टोनी हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको ग्रेट ट्रेल र स्थानीय सुरसीङमा आएकी थिइन् ।


मिस वर्ल्ड आफ्नो गाउँमा आउने भएपछि उनलाई हेर्नका लागि हेलम्बुका सयौं स्थानीय जम्मा भएका थिए । मिस वल्र्ड टोनीलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गरेका थिए । हेलम्बुको घोप्टेघ्याङमा मा निर्माण भइरहेको हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पुगेर त्यसको अवलोकन गरेकी थिइन् । चीन पछि हेलम्बुमा निर्माण भइरहेको ग्रेट ट्रेल एकदमै राम्रो रहेको मिस वर्ल्ड टोनीले बताइन् ।


मिस वर्ल्ड टोनीलाई स्थानीय गुराँस र खादाले भव्य स्वागत गरेका थिए । नमस्ते गर्दे अघि बढेकी विश्व सुन्दरीलाई आफ्नै क्षेत्रमा पाउँदा हेलम्बुबासी खुसी भएका थिए । आफ्नो स्वागतमा आएका वृद्धादेखि साना केटाकेटीहरुलाई समेत टोनीले हात समाएर नै श्रदाभाव व्यक्त गरेकी थिइन् ।


मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठको पहलमा हेलम्बुको सोर्सिङका स्थानीयलाई लक्षित गरेर सुरु गरिएको आय आर्जन परियोजनाको स्थलगत निरीक्षण गरेकी थिइन् । मिस नेपाल अनुष्काले सोर्सिङका महिलाहरुको लागि गलैचा बुन्ने तान, सिन्के धुप बनाउने तालिम र त्यसका लागि आवश्यक उपकरण सहयोग गरेकी थिइन् । त्यस्तै स्थानीय स्तरमा नै इट्टा निर्माणका लागि पनि उपकरण र तालिम प्रदान गरेकी थिइन् ।


अनुष्काको यही परियोजनाका कारण मिस वर्ल्ड २०१९ मा विउटी विथ थ प्रर्पसमा छानिएकी थिइन् । मलाई यही परियोजनाको कारण विश्वमा नै यो उपाधि मिल्यो, त्यसैले यो परियोजना देखाउन उनलाई ल्याए मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले भनिन् । सोर्सिङका ४० घरपरिवारका लागि अनुष्काको परियोजनाबाट सहयोग पुगेको स्थानीयले बताए । विश्व सुन्दरी प्रतियोगीता २०१९ मा १३० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहेको थियो । अनुष्काको यही परियोजनाले गर्दा धेरै सुन्दरीहरुलाई पछि पार्दै नेपालकी अनुष्का यो उपाधिका लागि चयन भएकी थिइन् ।

यहाँका स्थानीयको जिवनस्तर सुधारका लागि अनुष्काको महत्वपुर्ण योगदान रहेको बताउँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मिस वर्ल्डको यहाँ आउदा यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारमा ठुलो योगदान मिलेको बताए । निर्माणधिक हेलम्बु हिमालयन ग्रेट ट्रेलको अवलोकनले यहाँको पर्यटकीय क्षेत्रको प्रचार र ग्रेट ट्रेल निर्माणमा समेत थप हौसला मिलेको अध्यक्ष शेर्पाले जानकारी दिए ।


हेलम्बु क्षेत्र ट्रेकीङ पर्यटकको लागि महत्वपुर्ण क्षेत्रको रुपमा लिने गरिएको छ । हिमालयन ग्रेट ट्रेललाई पर्यटकीय मार्गको रुपमा विकास गर्नका लागि निर्माण सुरु गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

नेपाली सुन्दरीसँग आएकी विश्व सुन्दरी टोनीले हेलम्बु क्षेत्रमा दुइ घण्टा बिताएकी थिइन् । उनलाई स्थानीय शेर्पा समुदायको परिकार खापसे र मकैको ढिडोले स्वागत गरेका थिए । हेलम्बु पछि टोनी मिस नेपाल २०१८ की विजेता श्रृङखला खतिवडाले मकावनपुर जिल्लामा सञ्चालन गरेको अर्काे आयआर्जन कार्यक्रमको निरीक्षण पछि शुक्रबार नै स्वेदश फर्कने कार्यक्रम रहेको छ । आगामी मिस वर्ल्ड नेपालमा नै सञ्चालनका लागि समेत आफुहरुले समन्वय गरीरहेको मिङमार लामाले जानकारी दिए । मिस वर्ल्डको साथमा मिस वल्र्ड आयोजक संस्थाका विश्व अध्यक्ष जुलीयामुरली पनि सहभागी भएका थिए ।