नेपाली जनता के चाहन्छन्, के गर्दैछ राजनीतिक नेत्तृत्व ?

सुन्दर र समृद्ध नेपालको तस्वीर आँखामा सजाएर राणा शासनको अन्त्यका लागि नेपाल आमाका महान् सपुतहरुले बलिदानी गरे । त्यसपछि प्रथम जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन आदि थुप्रै आन्दोलन र क्रान्तिमा थुप्रै होनहार सपुतहरुको साहदत भयो । आन्दोलन र क्रान्तिका क्रममा थुप्रै योद्धाहरु घाइते भए, थुप्रै बेपत्ता पनि भए । यो सबै वास्तवमा सुन्दर, सुखी र समृद्ध नेपालकै चाहनाबाट अभिप्रेरित भएर गरिएको थियो । यी सबै आन्दोलनहरुको सार भनेको जनता एकतन्त्रीय वा निरङ्कुश शासन चाहँदैनन्, जनता लोकतान्त्रिक पद्धति मार्फत् जीवन व्यवहारमा परिवर्तन भएको हेर्न आतुर छन् भन्ने नै थियो । नेपाली जनताले पटक पटक विभिन्न राजनैतिक दललाई जनमत दिएर सत्तामा पठाए । तर जनताको चाहनालाई आजसम्म कुनै पनि दलले गम्भीरतापूर्वक लिएनन् । काङ्ग्रेसलाई सत्तामा पु¥याएपछि केही हुन्छ भनेर पटक पटक सत्तामा पु¥याए । त्यस्तै, एमाले, माओवादी, राप्रपा, समाजवादी आदि सबै दललाई जनताले अवसर दिए, तर आजसम्म पनि जनताले चाहेजस्तो र सोचेजस्तो परिवर्तनको महसुस गर्न पाएको अवस्था पक्कै पनि छैन ।

राजनैतिक दलहरुप्रति नेपाली जनताका केही यक्ष प्रश्न, जिज्ञासा र अपेक्षाहरु छन् । सबैभन्दा पहिले.जनता राजनैतिक दलहरु सच्चिउन् भन्ने चाहन्छन् । दलहरुको आन्तरिक लोकतन्त्र बलियो होस् । प्रत्येक दलहरुले आफ्नो आम्दानी र खर्च प्रणाली पारदर्शी गरुन् । दलभित्र अनावश्यक ‘होलटाइमर’ कार्यकर्ता पाल्ने प्रवृत्ति रोकियोस् । भएका कार्यकर्ताहरुको आम्दानी र खर्च कसरी जुटिरहेको छ त्यो पनि पारदर्शी होस् । त्यस्तै, जनता प्रत्येक राजनैतिक दलका कार्यकारी पदमा ६५ वर्षभन्दा बढी उमेरका नेताहरु नबसून्, बरु उनीहरुलाई पद नै चाहिएको हो भने एउृटा जम्बो सल्लाहाकार समिति बनाएर राखियोस् भन्ने चाहन्छन् । राजनैतिक दलमा योग्य, सक्षम, इमानदार र स्वच्छ छवि भएका युवाहरुको प्रवेश होस् । अपराधी भए पनि आप्mनो पाटीको भनेपछि संरक्षण गर्ने प्रवृत्तिको अन्त्य होस्, राजनीतिभित्र बढ्दै गइरहेको अपराधीहरुप्रतिको मोह भङ्ग होस् । राजनीति इमानको होस्, राजनीतिमा नैतिकता भन्ने चिज पनि हुन्छ भन्ने कुरा नेताले बुझून् । इमानदार नेता कार्यकर्ताहरुले ठाउँ पाऊन्, दलाल तथा भिजलान्तेहरुलाई कठघरामा उभ्याइयोस् । कानुनका दृष्टिमा सबै बराबर होऊन्, गल्ती गर्ने जोसुकै भए पनि कानुन अनुसार कारबाही भाग्ने वातावरण बनोस् । जनताले आज वास्तविक रुपमै कानुनी शासनको प्रत्याभूति खोजेका छन् । चुनावमा टिकट दिँदा पैसा भएका वा शक्ति भएकालाई भन्दा योग्य, इमानदार, सक्षम र देशभक्त व्यक्तिलाई टिकट दिइयोस्, चुनावमा पैसाको खोलो बगाएर चुनाव जित्ने अनि जितेपछि खोलो बगाएको पैसा असुल्ने खराब प्रवृत्तिको अन्त्य होस् भन्ने जनताको चाहना हो । ठेकेदारले ठेक्कापट्टा गर्ने हो, राजनीति चलाउने होइन भन्ने कुरा जनता बुझाउन चाहन्छन् ।

हाम्रा नेताहरुले भाषणभन्दा काम बढी गरुन्, बोलेको कुरा पूरा गरुन्, जनताका दुःख सुखलाई बुझ्ने होऊन् । आफू चिल्ला गाडीमा चढ्दा हेलिकोप्टरको अभावमा सुत्केरी व्यथाले मर्न बाध्य कर्णालीकी चेलीको संवेदनालाई ह्दयङ्म गरून् । आफू आलिसान महलमा बस्दा भुकम्पले घर भत्किएर खाली आकाशमा सुत्ने सिन्धुपाल्चोकको तामाङ परिवारको पीडालाई बुझ्ने कोसिस गरुन् । आफू विदेशमा सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जाँदा सिटामोल खान नपाएर ज्वरोको सङ्क्रमणबाट कालिकोटमा मर्न बाध्य भएकी आमाको अनुहार सम्झिून् । आङ खस्ने व्यथाले आत्तिएर टर्च लाइटको बिर्काेलाई कपडाले बाँधेर पाठेघरमा घुसार्दै अस्पताल आउने आमाहरुको पीडालाई गहिरोसँग राज्यले बोध गरोस् । शासकहरुले आप्mना छोराछोरी विदेशी महङ्गा स्कुलमा पढाउँदै गर्दा रोल्पाको विकट गाउँमा महिनौसम्म किताब नपाएर स्कुलको छेउमा भविष्य खोज्दै टोलाइरहेको बालकको तस्वीर छातीमा टाँसून् । एउटै देशमा जन्मेर कसैले राम्रो स्कुल पढेर भविष्य सुन्दर बनाउन पाउने, कसैले विद्यालय जान पनि नपाउने वर्तमान विभेदपूर्ण शैक्षिक परिपाटीको अन्त्य भएको जनता हेर्न चाहन्छन् ।

वास्तवमा जनता सरकारी कार्यालयमा जाँदा कानुन अनुसार काम सरासर होस्, कुनै झन्झट बेहोर्नु नपरोस् भन्ने चाहन्छन् । सरकारी कार्यालयमा कागजी अखेटो थापेर अनेक दुःख दिने र पैसा भएपछि नबन्ने काम पनि गरिदिने वर्तमान कर्मचारीतन्त्रको आमूल परिवर्तन चाहन्छन् । कागजी ढिलासुस्ती र झन्झटिलो प्रकियालाई सरल र पारदर्शी बनाई जनतालाई सहजतापूर्वक सेवा दिने कर्मचारीतन्त्रको खोजी जनताले गरिरहेका छन् । भ्रष्टाचारी कर्मचारीलाई कडाभन्दा कडा कारबाही गरियोस् । यो देशको अहिलेको सबैभन्दा ठूलो रोग भनेकै भ्रष्टाचार हो । भ्रष्टाचारले देश भित्रभित्रै खोक्रो भइसकेको छ । पैसा विना कुनै कार्यालयमा काम हुँदैन । कर्मचारीहरुको सेटिङ यति बलियो छ कि जोकोहि पनि त्यसको पासोमा परिहाल्छन् । पैसाको पासो थापेर बस्ने होडबाजी छ कार्यालयहरुमा । यस्तो प्रवृत्तिबाट जनताले मुक्तिको अपेक्षा गरेका छन् । भ्रष्टाचार हेर्ने संवैधानिक आयोगका प्रमुख आयुक्त नै भ्रष्टाचारीको नाइके भएको देशमा भ्रष्टाचार निवारण होला, सुशासन कायम होला भन्ने जनताले सजिलै विश्वास गर्न सक्ने स्थिति छैन । त्यसैले भ्रष्टाचार हेर्ने अख्तियार भन्दा पनि शक्तिशाली निकाय गठन होस् । प्रहरीका आइजिपी नै धमाधम भ्रष्टाचारमा मुछिदाँ पनि केहीलाई बाहेक अन्यलाई कारबाही हुन सकेको छैन । यस्तो दण्डहिनताको अन्त्य नै नेपाली जनताको आजको चाहना हो । बालुवाटारको जमिन हड्प्नेमाथि कारबाही होस्, ट्रस्टको सम्पति कब्जा गर्ने र गर्न दिनेहरु जेलको चिसो छिंडीमा कुहियून् ।

राज्य चलाउने शासकहरुले सडकमा किड्नी माग्दै रोइरहेका नेपाली नागरिकको पीडा बुझुन् । रोगको उपचार गर्न नसकेर घरबारविहीन हुनेहरुको संवेदनामाथि खेलवाड नगरुन् । नेपालमा अहिले पनि सामान्य जनताले वास्तवमै सहज उपचार पाउने स्थिति छैन । उपचार असाध्यै महङ्गो बन्दै गइरहेको छ । डाक्टरहरु नै मानवीय संवेदनामाथि खेलवाड गरिरहेका छन् । प्राइभेट अस्पतालहरु बिरामीको औकात हेरेर कसलाई कति नाङ्गेझार बनाउन सकिन्छ भन्ने अनुमान लगाइरहेका हुन्छन् । मेडिकल माफियाहरुले नेपालको स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाइसक्दा पनि टुलुटुलु हेर्ने सरकारप्रति जनताको आक्रोश चुलिएको छ । जनता कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गरेको हेर्न चाहन्छन् ।

कृषिमा राज्यले ठूलो लगानी गरोस् । युरिया मल महिनौँसम्म नपाएर खेती लगाउन नपाउने कृषकको संवेदनाप्रति राज्य सचेत बनोस् । आज राज्यमा सबैभन्दा उत्पीडित कोही छ भने त्यो कृषक नै हो । कृषकको सम्मान वा श्रमको सम्मान गर्ने राज्य व्यवस्था बनोस् । ‘कृषक संसारकै महान् नागरिक हुन्, श्रम गर्नेहरु सबैभन्दा महान् हुन्छन’् भन्ने मान्यता स्थापित गर्ने वातावरण राज्यले नै बनाओस् । कृषकले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य पाओस्, कृषि उत्पादनको नाफा बिचौलिया वा दलालहरुले खाने प्रवृत्तिको अन्त्य होस् । बाँदर आतङ्कले गाउँमा जनता बस्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । कृषकले लगाएको बालीनाली बाँदरले खाइदिएपछि गाउँ नै छाड्ने सोचमा रहेका नागरिकको मर्मलाई सरकारले बुझोस् । रित्ता भएका गाउँघर र अस्तव्यस्त बन्दै गएका सहरबजारबिचको पर्यावरणीय तथा सामाजिक सन्तुलन मिलाउने काम गरियोस् । जग्गा नभएका तर श्रम गर्ने जाँगर भएकाहरुलाई राज्यले नै जमिन उपलब्ध गराओस् ।

वृद्धवृद्धाहरुप्रतिको सम्मानको संस्कार गर्ने परिपाटिको थालनी होस् । ‘वृद्धहरुलाई उपेक्षा होइन, संरक्षण गर्नुपर्छ र उनीहरुका अनुभवलाई देशको विकासमा उपयोग गर्नुपर्छ’ भन्ने सोचलाई प्राथमिकता दिइयोस् । दलितप्रतिको विभेद पूर्ण रुपमा अन्त्य होस् । दलितलाई राज्यका सबैभन्दा ‘महान् श्रमशिल्पी’ का रुपमा सम्मान गरियोस् । बेरोजगारीको पीडाले भक्कानिएर जन्मथलो छोड्दै विदेशिएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले स्वदेशमै काम गर्ने वातावरण बनोस् । आप्mनै श्रम र पसिनाले आप्mनै धर्ती सिंगार्ने ऐतिहासिक अवसरबाट युवाहरुलाई कुनै पनि वाहनामा वञ्चित नगरियोस् । विदेशी भूमिबाट कमाएर आएकाहरुलाई लगानी गर्ने उपयुक्त वातावरण बनाइयोस् । नेपाली जनताले प्रत्येक क्षेत्रमा कुलमान घिसिङ, सन्दुक रुइत, महावीर पुनहरु जस्ता असल सन्तान खोजिरहेका छन् । आखिर जनताको अन्तिम चाहना भनेको प्रत्येक नेपाली नागरिकका मनमा यो मेरो देश हो, यो मेरो राज्य हो, यो मेरो सरकार हो भन्ने अपनत्वबोध हुने गरी सुन्दर, सुखी र समृद्ध नेपाल बनोस् भन्ने नै हो । समाप्त