कीर्तिमानी बलर अञ्जली भन्छिन्, ‘खुशीको सीमा रहेन’

कास्की,२२ मंसिर । जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन्। चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक/दुई विकेट लिने मात्र उनको लक्ष्य थियो।

तर साग प्रतियोगिताले उनलाई विश्वस्तरमा चिनायो। माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि स्वदेश तथा विदेशमा समेत उनको चर्चा शिखरमा पुगेको छ। अञ्जलीले २.१ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् र ६ विकेट लिइन् । उनको यो बलिङ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म कै उत्कृष्ट बलिङ रेकर्ड हो ।

सुदुरपश्चिमको बैतडी दशरथचन्द नगरपालिकाका चन्दले माल्दिभ्सविरुद्धको लिग चरणको पहिलो खेलमा दुई दशमलव एक ओभर बलिङमा कुनै रन नदिई छ विकेट लिएपछि उनले विश्व कीर्तिमान कायम गरेकी हुन्।

त्यस्तै चन्दले शनिबार पोखरा रङ्गशालामा कास्य पदकका लागि माल्दिभ्सविरुद्ध नै भएको स्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गर्न सफल भाइन्।

‘प्लेयर अफ दी म्याच’ बन्न सफल उनले आफ्नो चार ओभरको बलिङमा जम्मा एक रन खर्चेर चार विकट लिएकी थिइन्। प्रतियोगितामा उनले ११ विकेट लिन सफल भाइन्।

कीर्तिमानी चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउछिन्। केही वर्षको अन्तरालपछि टोलीमा स्थान बनाएकाले पनि खेलमा ठूलो सपना नराखेको उनी बताउछिन्।

उनी भन्छछिन्, “मलाई यति ठूलो सफलता मिल्छ जस्तो लागेको थिएन। स्पर्धामा ह्याट्रिक गरेँजस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुशीको सीमानै रहेन।”

सन् २०१५ वैवाहिक जीवनमा बाँधिएपछि उनी क्रिकेटबाट केही वर्ष टाढा रहिन्, तर क्रिकेटप्रतिको मायाले उनलाई छाडेन। घरपरिवारको साथ, सहयोग र हौसलाले गत असोजमा सम्पन्न ‘वुमन्स क्रिकेट लिग’ बाट उनी पुनः क्रिकेटमा फर्किइन्। त्यस प्रतियोगितामा समेत चन्दले राम्रो छाप छाड्न सफल भएकी थिइन्।

तेह्रौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला क्रिकेटको तेस्रो स्थानका लागि पोखरामा शनिबार सम्पन्न माल्दिभ्स विरुद्धको खेलमा कास्य पदक विजेता नेपाली टोलीका सदस्यहरु ।