विद्या भट्टराईः ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ

कास्की,१६ मंसिर  । वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिइन् ।

राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भट्टराई प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतान्तरले विजय हासिल गरेर राजनीतिमा आफ्नो पकड देखाइन् ।

दिवङ्गत नेता रवीन्द्र अधिकारीका जीवनसँगीनी भएकाले पनि उनीप्रतिको चासो उत्तिकै थियो । राजनीतिक पृष्ठभूमिका आधारमा उहाँ राजनीतिमा आउनुपर्छ भन्ने जमात पनि बाक्लै थियो, त्यही भावनालाई नेकपाले मनन गरेर टिकट दियो । जब नेकपाको कास्की जिल्ला कमिटीले उनलाई एकमात्र उम्मेदवारका रुपमा नाम सिफारिस ग¥यो, तब उनीमाथि पार्टीभित्रैबाट रोक्न प्रयास नभएको होइन ।

नेत्री भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका एक अभियानकर्मी अधिकारीले विकास र समृद्धिका लागि साँच्नुभएका सपना तथा आफ्ना योजनालाई पूरा गर्दै जनताको आफूमाथिको आशा र भरोसा टुट्न नदिएर राजनीतिक यात्रामा अघि बढ्ने बताइन् ।

भट्टराईले कहीँ कतै एक थोपा आँसु झारेर मत माग्नु भएन । पीडाका ती तमाम अवस्था बिर्सन खोजे पनि उनका अगाडि मतदाता रवीन्द्रलाई सम्झेर भक्कानिन्थे तर उनले आफूलाई सम्हालिन् र मतदातालाई निडर भएर सम्झाइन्।

आरोप प्रत्यारोपमा नउत्रिएर राजनीतिक संस्कारको उच्चतम उदाहरण उनले प्रस्तुत गरेकी थिइन् । विद्या भट्टराई आफ्ना पति अधिकारीको मृत्युपछि कुनै पदको लोभले राजनीतिमा प्रवेश गर्नुभएको कदापि थिएन । एउटा बाध्यता थियो । आम जनताको चाहना थियो ।

विसं २०२९ कात्तिक २९ मा काठमाडौँमा जन्मिएकी  भट्टराईमा सानै उमेरमा राजनीतिक चेत थियो । उनी ७ कक्षा पढ्दा नै अनेरास्ववियुमा आबद्ध भएकी थिइन् । विसं २०४२ मा पशुपति मित्र मावि, चावहिल काठमाडौँमा ७ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाइ आन्दोलन, हाजिरीजवाफ, वक्तृृत्वकला, वृक्षरोपण आदिमा सहभागी भएर उनले आफ्नो राजनीतिक यात्रा शुरु गरिन् ।

विसं २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । अखिल नेपाल महिला सङ्घको जिल्ला समिति काठमाडौँमा कोषाध्यक्ष हुँदै उनले तत्कालीन नेकपा (एमाले)को सङ्गठित सदस्यका रुपमा राजनीतिक यात्रामा अघि बढाइन् । वि.सं २०४८ मा अनेरास्ववियु राष्ट्रिय परिषद्मा निर्वाचित भएकी विद्या १८ वर्षकै उमेरमा एमाले वडा कमिटी सदस्यसमेत बनिन् ।

नेविसङ्घको वर्चस्व रहेको पद्मकन्या क्याम्पसमा २०४९ सालमा स्ववियु सभापतिमा उम्मेदवार बनेकी थिइन् । विसं २०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा उनी क्रियाशील हुँदै २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन् । पार्टीको सिद्धान्त र विचारबाट निरन्तर अघि बढ्दै जाँदा एमालेका जुझारु युवानेता अधिकारीसँग उनको निकटता बढ्यो । साथीभाइको शुभेच्छा र विचारको निकटाताले रवीन्द्र र विद्यालाई जीवनमा पनि एक हुन प्रेरित ग¥यो । उनीहरुले २०५६ साल असार २६ गते वैवाहिक जीवन प्रारम्भ गरे ।

रवीन्द्रको राजनीतिक गतिशीलतालाई उचाइ दिन र परिवारलाई व्यवस्थापन गर्ने थप जिम्मेवारी बहन गर्न उनी पर्दा पछाडिबाट राजनीति सहायोगीका रुपमा भूमिका निर्वाह गरिन् । विसं २०५८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन शुरु गरेकी भट्टराई पछिल्लो समय त्रिविमा उपप्राध्यापक रहेकी थिइन् ।

उनले समाजशास्त्रमा एमफिल गरेकी छिन् भने त्रिविमा समाजशास्त्रका सिद्धान्त र विकासका सिद्धान्तको अध्यापन गराउँदै आएकी थिइन् । राजनीतिक चेत समाजको गहिरो अध्ययनले प्राध्यापन पेशामा राजीनामा दिएर  राजनीतिमा पुनरागमन गरिन् ।

प्राज्ञिक र तार्किक क्षमताका रुपमा परिचित उनी चुनावी अभियानमा घरदैलोमा पुग्दा लोकप्रिय उम्मेदवारका रुपमा स्थापित हुन सफल भएकी थिइन् । उनको राजनीतिमा पुनरागमनले धेरै महिलालाई राजनीतिमा ऊर्जा थपेको देखिन्छ । अहिले  विद्याले जीत हासिल पारेको यस क्षेत्रमा रवीन्द्रले पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० र  आम निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन २०७४ सालमा जितेर ह्याट्रिक गरेकी थिइन् ।

रवीन्द्रको उत्तराधिकारीका रुपमा चुनावी मैदानमा होमिएकी भट्टराईले  रवीन्द्रको विरासतलाई जोगाउँदै विजय यात्रा जारी राख्न सफल भइन् । विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको निधनले शोकमा रहेकी  भट्टराईले शोकलाई शक्तिमा बदले आम कस्केलीको चाहनालाई स्वीकार्दै चुनावमा होमिइन् र विजयी हासिल गरिन् ।