डोलेश्वर मन्दिरको छाना र गजुरका लागि झापाका पौडेलले दिए ३० लाख

भक्तपुर ,१६ मंसिर।  सुर्यबिनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको मूलमन्दिरमा तामाको छाना र गजुर हाल्नका लागि झापा निवासी पदम बहादुर पौडेलले आज सोमबार ३० लाख रुपैयाँ प्रदान गरेका छन् ।

मूलमन्दिरमा तामाको छाना र गजुर हाल्नका लागि करिब ८० लाख खर्च हुने अनुमान छ । तीन किस्ता गरी दिइने उक्त रकमबापत पौडेलले  पहिलो किस्तास्वरुप ३० लाख रुपैयाँको चेक आज केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

छाना र गजुर आगामी असार मसान्तसम्म तयार हुने समितिका सचिव विश्वराम थापाले जानकारी दिए । पौडेलले बाँकी रकम आगामी वैशाखमसान्तसम्म दिने सम्झौता भएको उनले बताए ।

२०७२ सालको भूकम्पले गुम्बज शैलीका मन्दिर भत्काएपछि समितिले पुनः मल्लकालीन शैलीमै पुनर्निर्माण गर्ने गरी गुरुयोजना बनाएको थियो । २०७२ सालको जेठ १८ गते मूलमन्दिरको पुनर्निर्माण थालिएको थियो ।

उक्त मन्दिर पुनर्निर्माण गर्न संखुवासभा निवासी कृष्णगोपाल श्रेष्ठले पाँच करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । तर, दुईपटक गरेर दुई करोड १ सय ११ रुपैयाँ दिएर दाता श्रेष्ठ प्रतिबद्धताबाट पछि हटेको सचिव थापाले बताए ।