मकवानपुरबाट २५ किलो चरेससहित दुई भारतीय र लुटिएको सुन सहित एक पक्राउ

काठमाडौँ,१६ मंसिर । मकवानपुर प्रहरीले आइतबार राति २५ किलो चरेससहित दुई भारतीय नागरिकलाई र लुटिएको सुन सहित एक जनालाई पक्राउ गरेको छ ।पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा २५ किलो चरेससहित दुई भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार मोतिहारी सिसुवा ग्राम–२ का २५ वर्षीय राजेश यादव र मोटरसाइकलमा पछाडि सवार बिहार मोग्लेसपुरका १८ वर्षीय ऋषि कुमार यादव रहेका छन् ।

आइतबार राति करिब साढे ९ बजे प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले मोटरसाइकलको ट्यांकीमुनि फल्स बटम बनाएर लुकाइछिपाइ ल्याइएको चरेससहित उनीहरुलाई पक्राउ गरिुउको प्रहरीले जनाएको छ ।

सो चरेस कहाँबाट ल्याइएको भन्नेबारे पक्राउ परेकाबाट खुलेको छैन । यसैगरी, आइतबारै दिउँसो प्रहरीले लुटिएको सुन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–८ का १८ वर्षीय सुरज ओली रहेको प्रहरीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित केदारनाथ सुनचाँदी पसलबाट ३ तोला ११ लालको सुनको सिक्री र १ तोला ०.७ लालको सुनको ब्रासलेट गरी ४ तोला ११.७ लालको सुनका गरगहना लुटी ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलबाट भाग्न खोज्दा ओलीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।