मण्डेकाजीको दुईसहित नेपालले जित्यो ६ स्वर्ण पदक

काठमाडौँ,१६ मंसिर । जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म करातेमा तीन, तेक्वान्दोमा दुई र ट्रायथलनमा एक स्वर्ण जितेको छ । कराते तर्फ मण्डेकाजी श्रेष्ठले दुई स्वर्ण जितेका छन् । पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गर्दै पहिलो स्वर्ण जितेका थिए । त्यसति महसुस तामाङ र प्रविन महर्जन सम्मिलित टिमबाट पनि स्वर्ण जितेका छन् ।

नेपालका लागि करातेका मण्डेकाजी श्रेष्ठले एकल काता र टिम कातामा गरी दुई स्वर्ण जितेका छन् भने करातेमा महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो । करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की रहेका छन् ।

त्यस्तै तेक्वान्दोको २३ वर्षमुनिको महिला एकल पुम्से विधामा नेपालकी सीना मादेमले स्वर्ण जितेकी छन् ।त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन् ।

त्यस्तै महिला ट्रायथलनतर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी छन् । उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारेकी थिइन् ।