३० वर्षदेखिको अमेरिकी दबदबा हटाएर युरोपेली जहाजमा निगम, बोइङ युग अन्त्य गर्दै एयरवस

काठमाडौं । नेपाल वायुसेवा निगमबाट अब वोइङ युग सकिएको छ । निगमले आफूँसग भएको अमेरिकी जहाज निर्माता कम्पनीले बनाएको ७५७–२०० एसीबी विमान बिक्री गर्न ३ प्रस्तावलाई सर्ट लिस्ट गरिसेको छ ।

निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ । यसैगरी पोल्यान्डको सीएसबीएसन एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि प्रस्ताव गरेका छन् ।

निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाउनेछ ।

निगमले वोइङ–७५७ कर्णाली विमान खरिदका लागि ४८ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्नेका लागि प्रस्ताव आह्वान गरेको छ ।

३ वर्षदेखि बिक्री गर्ने वोइङ–७५७ एसीबी विमान थन्किएर बसेको थियो । नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड बनाएर बेचेको हो । निगमले थन्किएको जहाज फेरि बनाएर उडाउने हिम्मत नगरेकै कारण निगमका निम्ती उडान इतिहास बनेको बोइङ युग सकिएको छ। निगमले बोइङलाई विस्थापित गरेर चारवटा जहाजसँगै एयरबस युग सुरु गरिसकेको छ।

सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन पनि बन्द भइसकेको छ। यो सिरजको जहाज नयाँ उत्पादन नहुँदा बजार भाउअनुसार नभएर यसको हरेक पाटपूर्जा र अन्य उपयोगी सामानका आधारमा मूल्यांकन भएको छ। यस्तो मूल्यांकनअनुसार जहाजको बिक्रीमा पनि उडानयोग्य जहाजको मात्रै भएको छ। जहाज उड्न छोडेपछि यसको मूल्यांकन अनपेक्षित रूपमा कम भएको छ ।

निगमले यस अघि बिक्री गरेअनुसार लिलामीबाट जसले धेरै पैसा दिन्छ उसैलाई बिक्री गर्नेछ। निगमले ०४४ सालमा करिब २३ लाख अमेरिकी डलरमा खरिद गरेको यो जहाजले निगमलाई निरन्तर ३० वर्षदेखि अन्तर्राष्ट्रिय उडानमा नियमित सेवा दिइरहेको थियो। अब निगमसँग चार वटा एयरवसका जहाज मात्रै छन् । यसमा दुइवटा न्यारोवडी र दुईवटा वाइडबडी रहेका छन् ।