“मिस वर्ल्ड” को यात्रामा अनुष्का , साथ दिन आग्रह

काठमाडौँ,१० मंसिर । बेलायतमा आगामी डिसेम्बरमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा भाग लिनका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल अनुष्का श्रेष्ठ पुगिसकेकीछिन् । नजिकिदै गरेको कार्यक्रमको तयारीका लागि लागिरहेकी अनुष्का यतिबेला मिस वर्ल्ड अन्तरगतकै विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहेकीछिन् । नेपालको नाम विश्व समुदायमा थप उच्च मनाउँने मनसाय र लक्ष्य लिएर प्रतियोगितामा भाग लिईरहेकी अनुष्काले विश्वभर छरिएर रहेका नेपालीहरुमाझ सहयोगको अपिल गरेकीछिन् ।

प्रतियोगितामा उनलाई टप २० सम्म पुग्न मल्टीमीडिया अवार्ड जित्नु पर्ने हुन्छ जसको लागि प्रशस्त भोट गर्नु पर्ने हुन्छ । साथै पछिल्लो केही समययता नेपालले लगातार जितिरहेको ब्युटी विथ पर्पज अनुष्काले जितिन् भने फाईनलको यात्रा तय गर्नेछिन् । तर सर्वप्रथम उनलाई मल्टीमीडिया अवार्ड जित्न आवश्यक हुन्छ टप २० को यात्रा तय गर्नका लागि । त्यसका लागि उनको फेसबुक अकाउन्ट लगायतलाई लाईक , शेयर गरेको खण्डमा मद्धत पुग्नेछ ।

अनुष्काले मिस वर्ल्डको यात्रामा सहयोग गर्न आग्रह गर्दै भनेकीछिन् “तपाईकी चेलीलाई उपाधी जित्नका लागि सघाउनुस् है”  । स्मरण रहोस गत बर्षको मिस वर्ल्डको यात्रामा मिस नेपाल श्रृङखला खतिवडालाई नेपाल र बिदेशीहरुले समेत भोट गरेका थिए । उनले मल्टीमीडिया अवार्ड र व्युटी विथ पर्पज अवार्ड जितेकी थिईन भने टप १२ सम्मको यात्रा तय गरेकी थिईन् । साथै विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुको नजरमा समेत परेर अन्तराष्ट्रिय मिडियामा समेत उनको चर्चा भएको थियो । आशा गरौँ त्यही चर्चा , सफलता र साथ अनुष्काले पनि पाउँनेछिन् ।