भ्रमण वर्षको उद्घाटन राष्ट्रपतिबाट, विदेशी आकर्षण गर्न छुटैछुटको प्रस्ताव

काठमाडौं । सन् २०२० को जनावरी १ का दिन हुने नेपाल भ्रमण वर्षको भव्य उद्घाटन राष्ट्रपति विद्यादेवी भणडरीबाट गराउने तयारी भएको छ । यस्तो तयारी गर्ने विषयमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले आवश्यक निर्णयसमेत गरेको छ ।

यस्तो उद्घाटन सातै प्रदेश, देशैभरका सबै संघसंस्था सरकारी तथा निजी क्षेत्रले एकैसाथ गर्ने गरी तयारी भएको पर्यटन मन्त्री भट्टराइ बताउँछन् । भ्रमण वर्ष २०२० का मूल आयोजक समितिका अध्यक्ष रहेको पर्यटन मन्त्रीले सोमबार भ्रमण वर्षलाई भव्य बनाउन सबै निकायबाट सहयोग लिने र आवश्यक कार्यक्रम उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

जनावरी ७ तारेखका दिन सबै विदेशी कुटनैतिक तथा विदेशी नियोगमा एकैपटक कार्यक्रम गर्ने, नेपाल आउने सबै विदेशी वायुसेवालाई नेपाल भ्रमणको सन्देश दिने तयारी पनि भइरहेको छ ।

गौतमबुद्ध विमानस्थबाट उडान तथा अवतरणमा छुट
निर्माणाधिन गौतमबुद्ध विमानस्थल निर्माण सकेर सञ्चालनमा आउँदा यो विमानस्थलमा विदेशी वायुसेवालाई आकर्षण गर्न सरकारले आकर्षक छुट दिने बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल निर्माण सकिएर भ्रमणवर्षदेखि सञ्चालनमा आउने बताए ।

त्यतिबेला मध्यपूर्वी देश, खाडी मुलुकबाट आउने वायुसेवा र अन्य बुद्धिष्ट मुलुकका वायुसेवालाई एयर नेभिगेसन, पार्किङ, ग्राउन्ड ह्याण्डलिङ, हवाई इन्धनसहितमा छुट दिइने बताए । यसका लागि विमानस्थल संचालनको टुंगो नभएकोले सरकारले दिने यो सुविधाको निर्णय पनि हुन नसकेको उल्लेख छ ।

सरकारले प्रादेशिक उडान गर्ने वायुसेवालाई प्रवद्र्धन गर्न छुट दिने भएको छ । एक प्रदेशबाट अर्को प्रदेशमा हुने आन्तरिक उडानलाई छुट दिएर वायुसेवाको आकर्षण बढाउन प्रयास भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । सोमबार पर्यटन मन्त्रालयमा आयोजना नेपाल भ्रमण वर्ष २०२० को पाँचौं मूल आयोजक समितिको बैठकमा मन्त्री भट्टराईले भने ‘आगामी हप्ता दस दिन भित्रै यो विषयमा उचित निर्णय गछौं ।’

मन्त्री भट्टराईले भने ‘निर्माण अन्तिम चरणमा पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने विदेशी वायुसेवालाई पनि आकर्षक छुट दिएर हामीले लक्ष्य गरेको भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने छौ ।’ यो विमानस्थलबाट उडान तथा अवतरण गर्ने वायुसेवालाई दिइने छुटको मन्त्रालयले तयारी छ । नेपालमा विदेशी वायुसेवालाई आकर्षण गर्न के कति छुट दिने भन्ने विषयमासमेत सरकारले छिट्टै निर्णय गर्ने जानकारी पनि दिए ।

आन्तरिक वायुसेवालाई पनि छुट
सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई दृष्टिगत गरेर प्रादेशिक हवाई उडानलाइ छुट दिँदा अन्तरप्रदेशमा उडान बढ्ने आशा मन्त्रालयको छ । अहिले पोखरा र भैरहवा विमानस्थमा मात्रै यस्तो उडान हुने गरको छ । यसलाई प्रवद्र्धन गरेर धनगढी, विराटनगर, जनकपुर, नेपालगन्ज, भद्रपुरसहतिका विमानस्थलमा आन्तरिक वायुसेवाको उडानमा प्रवद्र्धन गर्न लागिएको हो ।

यस्तो उडान हाल काठमाडौं विमानस्थललाई आधार बनाएर मात्रै भइरहेको उडानलाई अन्तर प्रदेशमा पु¥याउन सरकारले पहल गर्न लागेको पनि उल्लेख छ । हाल नेपालका निजी वायुसेवाले गरेको आन्तरिक उडान सबै काठमाडौंलाई आधार बनाएर उडान गर्ने मात्रै छन् । यो व्यवस्थाले काठमाडौंको चाप घट्ने र उडान अवतरण थप सहज हुने छ ।

होटलमा छुट
होटल संघका अध्यक्ष सिर्जना राणाले पनि भ्रमण वर्षमा पर्यटकलाई आकर्षक छुट दिने निर्णय भइसकेको बताइन् । उनले काठमाडौं आइपुगेका पर्यटकलाई सफा वातावरणमा घुमफिर गर्न दिने र काठमाडौं बाई नाइटको कार्यक्रम दिनुपर्ने बताइन् ।