शिशिर योगीको गीत र हाम्रा गाउँघर

एक दिन साँझ मेरो म्यासेन्जरमा मेरा एक जना मित्रले एउटा भिडियो पठाउनुभएको थियो । त्यो भिडियो एबिसी टेलिभिजन च्यानलले प्रसारण गर्ने इन्द्रेणी कार्यक्रमको थियो, जसमा गायक शिशिर योगीले एउटा गीत गाएको परिदृश्य थियो । गीतको शीर्ष बोल थियो, “बोल्ने कोही छैन गाउँमा, बोल्ने कोही छैन” । मैले यस भिडियोलाई निकै गम्भीरतापूर्वक हेरेँ र गीतलाई गहिरोसँग मनन गर्ने कोसिस गरेँ । गीत सुन्दै गर्दा गीतको भावले साँच्चै मलाई एकछिन भावनामा डुबाउँछ र भित्रभित्रै पीडाबोध पनि गराउँछ । मलाई यो गीतका प्रत्येक शब्द शब्दले प्रभाव पार्छन् : म एउटा नजानिदो अप्ठयारो महसुस गरिरहन्छु । यथार्थ कलाकारिताको प्रभाव कति गहिरो हुँदो रहेछ भन्ने तथ्यलाई मैले नजिकबाट महसुस गर्दछु ।

यस गीतमा गाउँघरको वर्तमान अवस्था र सन्दर्भलाई विभिन्न विभिन्न बिम्ब र प्रतीकहरूको माध्यमबाट निकै मार्मिक ढङ्गमा चित्रण गरिएको छ । यस गीतको कथ्य सन्दर्भमा गाउँमा बोल्ने मानिस कोही नभएको तथा गाउँघर निर्जन बन्दै गएको विषयलाई प्रस्तुत गरिएको छ । गाउँमा पाहुना आउँदा दैलो खोल्ने, हलो जोत्ने, आली लगाउने, काम गर्ने, छानो टाल्ने मानिसको अभाव भएको विषयवस्तु उल्लेख गरिएको छ । त्यस्तै, असारे गीत गाउने, तुलसीको मोठमा पानी राख्ने, राति नै उठेर दैलो पोत्ने, साँझमा बत्ती बाल्ने मानिस हराएको विषयलाई चित्रण गरिएको छ । गीतमा बूढी आमालाई पाल्ने, डुङ्गा खियाउने, गुहार लगाउने मानिस नभएको वर्तमान दुःखद् सन्दर्भलाई समेटिएको छ । सामान्यतः सतही रूपमा हेर्दा यसको विषयवस्तुमा त्यति अचम्म मान्नुपर्ने केही छैन, तर यसको अन्तर्य निकै मार्मिक र भावपूर्ण छ । यसमा शब्द र स्वरको यस्तो कलात्मक संयोजन छ, जसले गीत हेर्ने र सुन्ने प्रत्येकलाई एकचोटि भावको विशिष्ट मनोदशामा पु¥याएरै छाड्छ । गीतले बोलेको गाउँले समाज र वास्तविक हामीले भोग्दै गरेको गाउँले समाजका बिचमा निकै समानता भएकाले यसले प्रत्येकलाई भावमा डुबाउने सामथ्र्य राख्छ ।

वर्तमान समयमा नेपालका गाउँघरहरू निर्जन बनिरहेका छन् । गाउँबाट सहरबजारमा बसाईँ सर्ने क्रम तीव्र भइरहेको छ । विदेश जाने प्रवृत्तिमा निकै बढोत्तरी आएको छ । गाउँघरमा बुढाबुढी र साना बच्चा वा आर्थिक रूपमा कमजोर मानिसहरूमात्रै बसेका छन् । लोग्ने विदेश जाने र तिनका श्रीमतीहरू बच्चा राम्रो स्कुलमा पढाउने निहुमा सहरतिर बसाइँ सर्ने प्रवृत्ति बढिरहेको छ । गाउँमा धेरै घरहरू ढोका लगाएका छन्, जसलाई आजभोलि जङ्गली जनावरले बासस्थान बनाउन थालेका छन् । एक हिसाबले भन्दा गाउँघरमा जङ्गली जनावरको एकल सत्ता चल्न थालेको छ । आजभोलि गाउँघरमा कतै गीतहरु गुन्जिँदैनन् । हिजोका जस्तो रोदी घरमा कयौँ रात कयौँ दिनसम्म नथाकी गीत गाउने मइच्याङहरू आज गाउँमा छैनन् । देउसीमा गीत भट्याउने साइँला दाइले आज कतारको जङ्गलमा भेडा चराउँदै छन् । असारे गीत गाउने कान्छीहरू सहरका डिस्को र दोहोरीमा जमिरहेका छन् । गाउँमा मादलका सुरिला स्वरहरू आजभोलि कतै घन्कदैनन्, मादलका घिन्ताङहरूले गाउँघरलाई धेरै पहिले छोडिसकेका छन् । पिँढीको डिल रुँगेर बस्ने बूढा बाको औषधी ल्याइदिने छोरो गाउँमा छैन । तातोपानी तताएर खान दिने बुहारी बजारमा बसेकी छ ।

चाडपर्वहरू पनि हिजोजस्तो रसिला र रमाइला छैनन, बरु ती केवल औपचारिक र कृत्रिम बन्दै गइरहेका छन् । दसैँ, तिहार वा ल्होसारमा एक दुई दिन लाहुरे जस्तो गरेर ह्वार्र गाडीमा आउने र जाने जमात बढिरहेको छ । आली लाउने साइँला दाई मलेसियामा छन् । गाउँमा हलो जोत्ने, आली लाउने, खेत रोप्ने, दाँई हाल्ने मानिस छैनन् । हिजो मानामुरी अन्न फल्ने खेतबारीमा बनमासा र तीते पाती उम्रेको छ । एक हिसाबले गाउँमा एकतमासको सन्नाटा छ, शून्यता छ, मौनता छ । गाउँघरहरूमा कतै जीवनको गति छैन । त्यहाँ भ्याउँकिरी र न्याउलीको एकोहोरो रोदन छ । त्यहाँ विरह छ, एक्लोपना छ, वेदना छ । मर्दा मलामी छैन, सँगै रुने मान्छे छैन । दुःख सुख साट्ने मानिस छैन । भएका पनि सँसाझै दैलो ठोकेर सुत्नुपर्ने स्थिति छ । मान्छेहरू घटेको देखेर बाँदरहरूले पनि गाउँकब्जा गर्ने हिम्मत बढाइरहेका छन् । दुःखसुख अलिअलि खेती गरे पनि फल लाग्ने बेलामा बाँदरले विनास पार्दा गाउँमा भएका थोरै मानिसहरू पनि सहरतिरै ठीक भन्ने मनस्थितिमा पुगेका छन् । गाउँका विद्यालयहरू विद्यार्थी नभएर बिलखबन्दमा परेका छन् । आजको नेपाली गाउँघरको यथार्थ तस्विर यही हो; जसलाई योगीको गीतले समेट्ने प्रयत्न गरेको छ ।

यसरी योगीको गीतले गाउँहरूले मानिस खोजिरहेको, श्रम खोजिरहेको, प्रविधि खोजिरहेको सन्दर्भलाई उजागर गरेको छ । गीतले श्रमशील युव जनशक्तिलाई गाउँमै रोक्ने वातावरणको खोजी गर्न राज्यलाई घच्घच्याएको छ । परम्परा र पहिचानलाई जोगाउन ढिला भइसकेको तथ्यलाई उद्घाटन गरेको छ । परम्परागत सीपहरू सङ्कटमा परिरहेको विषयलाई गम्भीरतापूर्वक प्रस्तुत गरेको छ । गाउँलाई हेला गर्नेहरूप्रति भित्रभित्रै व्यङ्ग्य प्रहार गरिरहेको छ । धर्म, परम्परा र संस्कृतिको मूल धरातल गाउँले जीवनको परम्परागत विरासतलाई पुन फर्काउनु पर्ने सन्देश प्रवाहित गरेको छ । गीतमा आफ्नै अस्तित्व समाप्त पारेर आर्जन गरिएको धनले अन्ततः मानसिक सन्तुष्टि नदिने भाव प्रकट गरिएको छ । हाम्रा मौलिक प्रचलन र मूल्य मान्यताहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । गाउँप्रति उपेक्षा र हेयको भावले हेर्ने कथित आधुनिक सहरियाहरूप्रति पनि खबरदारी गरिएको छ । कृषि प्रधान देशमा कृषिको बिग्रदोँ हालत देखाइएको छ । गाउँमा उत्पादन र आर्थिक आयआर्जनका सम्पूर्ण क्रियाकलापहरू प्राणहीन बनिरहेको दुःखद र बिडम्बनापूर्ण परिदृश्यलाई कलात्मक ढङ्गमा चित्रण गरिएको छ । -आँधीखोला–६, स्याङ्जा