नारिताको निर्णय उल्टाउँदा जापान उडान घाटामा, मन्त्रीको चित्त बुझाउन अब ओसाका बन्द

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जापान उडान सुरु देखि नै घाटामा छ । निगमका तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारले राजधानीको विमानस्थल भनेर जापानको नारितामा उडान गर्ने गरी तयारी गरेको थिए । नारितामा उडान गर्ने सम्झौता गर्ने दुई दिन अगाडि मदन खरेल कार्यकारी अध्यक्ष भएर निगम छिरे ।

मदन निगम छिरेपछि सुगतले गरेको निर्णय उल्टाउँदै १२ वर्ष उडान गरेको गन्तव्य भन्दै जापानको ओसाका नै जाने निर्णय गरेर । सो निर्णय अनुसार असार १९ बाट सुरु गर्ने भनिएपनि तयारी नपुगेका कारण भदौ १२ देखि निगमले ओसाकामा साताको २ उडान गरिरहेको छ । उडान सुरु गरेको तीन महिनासम्म पनि घाटामा गएको र अझै निरन्तर घाटा हुने भएपछि अब ओसाका उडान बन्द गरेर खरेलले नारिता सुरु गर्ने गरी तयारी गरेका छन् ।

पर्यटन मन्त्री योगेश भट्टराईले खरेललाई निगम नाफामा लैजान नसकेको भनेर हटाउन खोजेपछि आफ्नो पद जोगाउन र मन्त्रीको चित्त बुझाउन ओसाका बन्द गर्ने र नारिता जाने निर्णय खरेलले गरे । उनै खरेल हुन जसले सुगतको निर्णय उल्टाउन गत ८ फेब्रुअरी २०१९ मा नारितामा कुनै उडान योजना नरहेको पत्र जापानको सिभिल एभिएसन व्यूरोलाई पठाएका थिए ।

सोही पत्रपछि उनले ओसाका मात्रै उडान योजना रहेको भनेर अनुमति लिएका थिए । मन्त्रीले खरेलाई हटाउने र काम नगरेको भनेपछि उनले आगामी फागुन १९ देखि नारिता उडान गर्ने र ओसाका बन्द गर्ने निर्णय पनि गरिसकेका छन् । पद जोगाउन सकिने कि नसकिने भनेर अहिले खरेलको निद हराम भएको निगम स्रोतको भनाइ छ ।

मन्त्री भट्टराईले पनि प्रधानमन्त्रीले नारिता उडान तयारी गर्नु भन्दाभन्दै किन ओसाका गरेर निगमलाई घाटामा पुरएको भनेर बारम्बार प्रश्न सोध्ने गरेका छन् । निगम बार्षिकोत्सवमै प्रधानमन्त्री ओलीले उडान सुरु गर्नुपर्ने नारिता तयारी भयो ओसाका । तुरुन्त नारिता सुरु गर्नु भनेका थिए । नारिता सुरु नभएको र ओसाकाबाट नाफा नभएपनि निगमका कार्याकारी अध्यक्ष मन्त्रीको दबाबमा छन् । मन्त्रीले खरेललाई हटाएर आफ्नो मान्छे ल्याउन खोजेका छन् । निगमले मागेको २० अर्ब रुपैयाँ पाउन पनि मन्त्रीले भने अनुसार गर्नुपर्ने दबाब निगमलाई छ ।

निगमले सुरु गरेको जापान उडान घाटाम जानुको रहस्य पनि टोकियो नगर ओसाका जानु भएको तथ्य फेला परेको छ । निगमले टोकियोको नारिता विमानस्थलमा उडान अनुमति पाउने अन्तिम समयमा गन्तव्य परिवर्तन गरेर ओसाका गएको पाइएको छ ।

ओसाकाभन्दा पहिले नारितामा उडान अनुमति मागिएको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले स्वीकार गरेका छन् । उनका अनुसार सातामा तीन वटा उडान गर्ने गरी अनुमति माग भएको छ । जापानले मागेको आवश्यक विवरण उपलब्ध पनि गराइ सकिएको थियो तर अन्तिम समयमा गन्तव्य परिवर्तन गर्दा निगम समस्यामा परेको उल्लेख छ ।
निगमका अनुसार ओसाका उडानको ६ महिनापछि मात्रै नारिता उडान गर्न पाइने अवस्था सिर्जना भएको हो । अब आगामी मार्च २ बाट गर्ने उनको भनाइ छ । उनका अनुसार हाल जहाजको भूमिस्थ सेवा र विमानस्थलको उडान तालिका अर्थात स्टल माग्ने प्रक्रियासम्म निगमले पूरा गरिसकेको छ । नारिता विमानस्थलले सकारात्मक प्रतिक्रिया दिइरहेकोले अब उडान अनुमति पाउनेमा निगम ढुक्क भएको चन्द बताउँछन् ।

नारिता विमानस्थलमा पहिले तयारी गरिइएको भएपनि ओसाका उडान अनुमति चाँडो आउने भएकेको निगमले गन्तव्य परिवर्तन गरेको जानकारी पनि चन्दले दिए । किन परिवर्तन गरियो र कारण के भन्ने विषयमा भने मलाई प्रवक्ताको जिम्वारी दिनुभन्दा पहिले नै भएकोले यो विषयमा आफूलाई थाहा नभएको उनले बताए ।

ओसाकामा अहिले यात्रु कम छ यदि नारिता गइएको थियो भने अलि बढि हुन्थे कि भन्ने आवास चाहिँ भएको बुझाई निगम पदाधिकारीको छ । अहिले ओसाका जाने यात्रु कम भएपनि उताबाट आउने यात्रु भने करिब दुई सय जनाको अनुपातमा पुगिसकेको जानकारी पनि निगमले दिएको छ ।

हाल ओसाका जाने यात्रु कम भएकोले पहिले तय भएको साताको तीन वटा उडानलाई घटाएर दुईवटा बनाइएको हो । त्यसमा पनि हाल प्रवद्र्धनात्मक भाडादर (सस्तो)मा सेवा दिइरहेकोले पनि नाफा हुने त कुरै आउँदैन् । पहिले यात्रु बढ्यो र भाडादर पनि बढ्यो भने मात्रै नाफाको कुरा गर्न सकिने बुझाइ पनि चन्दको छ ।

निगम स्रोतका अनुसार मदन कार्यकारी अध्यक्ष भएर निगम प्रवेश गरेपछि नारिता विमानस्थलमा उडान सम्झौता हुने बेलामा गन्तव्य परिवर्तन भएको हो । नारिता विमानस्थलमा उडान गर्ने पक्का भइसकेको र सो विमानस्थलबाट उडान अनुमति दिने इमेलसमेत आइसकेको निगमको भनाइ छ । निगमका अनुसार जनरल सेल्स एजेन्टस् (जीएसए)पनि नियुक्त भइसकेको थियो ।

पुरानो व्यवस्थापकले गरेको निर्णयलाई नमानेर नयाँ गन्व्यमा जाने निर्णय गर्नु नै निगमलको लागि जापान उडान घाटामा गएर हाल टाउको दुखाइको विषय भएको पनि उल्लेख छ । निगमका अनुसार जापानको नारिता छोडेर ओसाका जानु र जीएसए बिना नै उडान सञ्चालन गर्नु नै घाटाको मूल जड भएको पनि उल्लेख छ ।