बालबालिकामा दण्ड सजायको प्रयोग र बाल मनोविज्ञानमा पर्ने असर

मलाई मेरी आमाले पिठ्युँमा बोकेर पहिलो पटक कक्षा एकमा पढाउन लैजानुभएको मलाई आज पनि सम्झना छ । विद्यालय गएको दोस्रो दिन पनि आमाले मलाई विद्यालयमा छाडेर फर्किनुभएको थियो । आमा फर्किएपछि गुरुले मलाई वर्णमालामा भएका क, ख, ग पढ्न लगाउनुभएको थियो । विद्यालय जान सुरु गरेकै भोलिपल्ट मैले ती अक्षर पढ्न जान्ने कुरै थिएन । मैले ती अक्षर पढ्न नजानेपछि गुरुले मलाई बाँसको लठ्ठीले हातमा पिट्नुभएको थियो । गुरुको पिटाइले मेरो दिमाग तिलमिलाएको थियो । डर र त्रासका कारण पिसाबले मेरो कट्टु भिजेको थियो । विद्यालय सुरु गरेकै दोस्रो दिनमा भएको यस घटनाले विद्यालय र गुरुहरूप्रतिको मेरो पूर्ववर्ती धारणामा ठूलो परिवर्तन ल्याइदिएको थियो । मेरी आमाले भनेजस्तो विद्यालय मेरा लागि रमाइलो र सुखद मैले महसुस गरिरहेको थिइन । आमाले विद्यालय जानुभन्दा अगाडि विद्यालयका बारेमा जेजति सुन्दर तस्विरहरु मेरो दिमागमा भर्नुभएको थियो, ती सबै तस्विरहरू त्यहाँ गल्र्यामगुर्लुम ढलिरहेका थिए, खण्डहर बनिरहेका थिए । बरु गुरुहरू मलाई बाघजस्ता डरलाग्दा लाग्न थालेका थिए । विद्यालय बाघ बस्ने गुफाजस्तो लागिरहेको थियो । सिकाउने मानिस नै बाघजस्ता लाग्न थालेपछि त्यहाँ सिक्नेभन्दा पनि कसरी भाग्ने भन्ने समस्या खडा भइरहेको थियो । त्यो घटनापछि म कयौँ दिन विद्यालय जान सकेको थिइन । मलाई सामान्य र सहज अवस्थामा फर्किन धेरै समय लागेको थियो । हेर्दा सामान्य जस्तो देखिए पनि यो घटनाले मेरो सिकाइ यात्रामा निकै गम्भीर र दीर्घकालीन प्रभाव पारेको छ । आज पनि मलाई त्यो घटनाले बेलाबेलामा चिमोटिरहन्छ । आज आएर त्यो समय सन्दर्भ, परिवेश र चेतना फेरिएको छ । हिजो मलाई सजाय दिने गुरुको भूमिकामा आज म आफै पुगेको छु । त्यो घटनाको समयभन्दा तिन दशक पछाडिको चेतना बोकेर आएका बालबालिकालाई आज मैले विद्यालयमा दिनहुँ साक्षात्कार गरिरहेको छु । सिकाइको प्रारम्भिक यात्रामै घटेको त्यो घटनाको एक मूल पात्रको भूमिकामा आज म उभिँदै गर्दा मैले यस बिषयमा केही कुरा राख्नैपर्ने महसुस गरेको छु ।

यहाँ चर्चा गर्न खोजिएको विषय सिकाइका क्रममा हुने दण्ड र सजायको हो । सिकाइमा दण्ड र सजायको प्रयोगको अवस्था तथा यसले सिकाइमा पार्ने नकारात्मक प्रभावका सम्बन्धमा केही विषयहरु राख्नु सान्दर्भिक देखिएको छ । सामान्यतः वयस्कले बालबालिकाको व्यवहार परिवर्तन गर्न गरेको कुनै शारीरिक र मानसिक कष्टको अनुभूति गराउने क्रियाकलाप नै दण्ड वा सजाय हो । दण्ड वा सजाय मूलतः शारीरिक र मानसिक सजाय र प्रत्यक्ष वा अप्रत्यक्ष सजाय गरी दुई प्रकारका देखिन्छन् । प्रत्यक्ष सजाय भन्नाले देखिने खालका शारीरिक यातना जस्तैः पिट्ने, कपाल तान्ने, चिमोट्ने, उठबस गराउने, कुखुरा÷भ्यागुता बनाउने आदिलाई बुझिन्छ भने अप्रत्यक्ष सजाय भन्नाले प्रत्यक्ष चोटपटक नदेखिने खालका मानसिक यातनासँग जोडिएका सजायहरू जस्तैः धेरै गृहकार्य दिने, गाली बेइज्जती गर्ने, अपमानजनक शब्दबाट सम्बोधन गर्ने आदिलाई बुझिन्छ । बालबालिकाले आफूले भनेको कुरा जानेनन् वा मानेनन् भनेर शिक्षक वा अभिभावकले दण्ड सजाय दिने प्रवृत्ति पाइन्छ । दण्ड र सजाय दिने परम्परागत विधि, स्वरूप र तौरतरिकामा अहिले आएर ठूलो परिवर्तन आएको छ । बालबालिकालाई दण्ड दिनुहुँदैन भन्ने मान्यता पनि विकसित हुँदै गइरहेको छ । बालमैत्री विद्यालय र बालमैत्री विद्यार्थीका अवधारणाहरू पनि हुर्किँदै गइरहेका छन् । यस क्षेत्रमा धेरै सकारात्मक प्रयासहरू भएका छन् तापनि अझै निदाएर बस्ने अवस्था भने छैन । एउटा अध्ययनका अनुसार नेपालमा करिब सत्तरी प्रतिशत बिद्यालय अझै बालमैत्री छैनन् (आचार्य, २०७६ ः ७) ।

दण्ड र सजायका कारण हुने शारीरिक क्षतिभन्दा मानसिक क्षति बढी गम्भीर प्रकृतिको हुने गर्दछ । बाहिर हेर्दा सामान्य जस्तो देखिए पनि यसले बालबालिकाको मानसिकतामा गहिरो र दीर्घकालीन प्रभाव वा असर पारेको हुन्छ । बालबालिकामा दण्ड र सजाय पाउने डरले गर्दा विभिन्न मनोसामाजिक समस्याहरू, जस्तैः तनाव, एन्जाइटी, डिप्रेसन, घरबाट भाग्ने, कुनै विषयमा ध्यान केन्द्रित गर्न नसक्ने आदि समस्याहरू उत्पन्न हुने खतरा रहन्छ । यसले बालबालिकामा सिकाइप्रति नै नकारात्मक धारणा पैदा गराउँछ । शिक्षक वा बाबुआमाप्रति स्नेह वा ममताको भावका सट्टामा बदला वा प्रतिशोधको भावना पैदा गराउँछ । डर वा त्रासको जगमा सिकाएको कुनै पनि ज्ञान, सीप वा धारणा दिगो हुन सक्दैन । यसले सिकाइबाट सिकारुलाई निरुत्साहित बनाउने भएकाले दण्ड पाएका बालबालिकाले प्रगति गर्न सक्दैनन् । दण्ड वा सजायले बालबालिकाभित्रको प्रतिभा वा सिर्जनालाई समाप्त पारिदिन्छ । ती कहिल्यै रचनात्मक बन्नै सक्दैनन् । तिनीहरुले प्रकृतिबाट जन्मजात् रूपमा लिएर आएको क्षमता पनि फल्न फूल्न पाउँदैन ।

दण्ड र सजायको मूल सम्बन्ध हाम्रो सिकाइ पद्धतिसँग जोडिएको छ । घोक्ने र घोकाउने परम्परासँग यसको गहिरो साइनो छ । शिक्षकले निश्चित पाठ घोक्न दिने अनि नजाने वा घोक्न नसके शारीरिक वा मानसिक यातना दिने प्रवृत्तिका जगमा नै यसको विकास भएको देखिन्छ । यस्तो प्रवृत्तिले आजसम्म पनि हाम्रा शिक्षण संस्थाहरूलाई छाडेको छैन । घर परिवारमा पनि दण्ड वा सजायको प्रवृत्तिमा केही कमी आए पनि पूर्ण सुधार भइसकेको छैन । एकदमै बालमैत्री भनिएका विद्यालय वा शिक्षित वातावरण उपलब्ध गराएका भनिएका घर परिवारमा पनि कुनै न कुनै किसिमको दण्ड वा सजायको प्रयोग बालबालिकामाथि भइरहेको यथार्थलाई विभिन्न अध्ययनहरूले देखाइरहेका छन् । शिक्षण संस्थाहरूमा अहिले ‘होमवर्क आतङ्क’ एउटा भयङ्कर त्रासदी बनिरहेको छ । भनेको नटेर्ने बालबालिकालाई उसले गर्नै असम्भव हुने खालका होमवर्क क्रियाकलाप दिने प्रवृत्ति बढिरहेको छ । कतिपय अभिभावकहरूले नै आफ्ना छोराछोरीलाई गृहकार्य थोरै भयो भनेर विद्यालयका शिक्षकहरूसँग गुनासो गरिरहेको हामीले सुनिरहेका वा देखिरहेका छौँ । यो पनि एउटा आधुनिक दण्ड वा सजायको स्वरूप हो । आमाको काखमा दूध चुस्दै रमाउनुपर्ने बालबालिकालाई सात÷आठ वटा किताबसहितको गह्ुङ्गो झोलाको भारी बोकाउँदै गधाजस्तो बनाएर नर्सरी वा मन्टेश्वरीका नाममा पठाउने प्रवृत्तिभित्र पनि दण्ड र सजायको नौलो प्रयोग देख्न सकिन्छ । अझ खासगरी निजी विद्यालयहरूमा यो प्रवृत्ति बढी फस्टाएको पाइन्छ ।

अभिभावक वा शिक्षकले बालबालिकाहरूलाई दण्ड वा सजाय दिएर उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन खोज्नु केवल मूर्खतामात्र हो । यसबाट बालबालिकामा सकारात्मक परिवर्तन आउँदैन । बरु यसबाट बालबालिकाहरू झन उदण्ड, मूर्ख र अटेरी स्वभावका हुँन्छन् । यसबाट उनीहरूमा सकारात्मक परिवर्तन आउँदैन बरु उल्टो नकारात्मक भावना पैदा हुन्छ । उनीहरूमा शिक्षक र अभिभावकप्रति प्रतिशोधी भावना उत्पन्न हुन्छ । त्यसैले अब सिकाइका क्रममा हुने दण्ड र सजायलाई पूर्ण रूपमा निरुत्साहित गरिनुपर्छ । दण्ड र सजायबाट बालबालिकाको व्यवहार परिवर्तन गराउन खोज्ने प्रवृत्तिका सट्टामा यसका अन्य वैकल्पिक उपायहरूका बारेमा जनमानसमा व्यापक छलफल चलाइनुपर्छ । मूलतः अभिभावकहरूलाई दण्ड र सजायका वैकल्पिक उपायहरूका सम्बन्धमा प्रशिक्षण दिइनुपर्छ । विद्यालयमा मात्र यस प्रवृत्तिलाई सुधारेर नहुने भएकाले घरपरिवारमा अभिभावकलाई पनि यस सम्बन्धी सचेतना अभिवृद्धि गर्नु आवश्यक देखिएको छ । वर्तमान सन्दर्भमा धेरै मानिसहरूलाई बालबालिकालाई दण्ड सजाय दिनुहुँदैन भन्ने कुरा थाहा त छ, तर यसका अन्य वैकल्पिक उपायहरूको बारेमा पर्याप्त ज्ञान छैन । बालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि दण्ड र सजायका विकल्पमा गर्न सकिने उत्प्रेरणा वा सम्बलन सम्बन्धी क्रियाकलापहरूको पर्याप्त जानकारी नहुँदा उनीहरू समस्यामा परिरहेको हामीले अनुभव गरेका छौँ ।

त्यसैले, बालबालिकालाई पीडा दिएर होइन, खुशी दिएर सिकाउन खोजौँ । गीत गाएर, रमाइलो वातावरण बनाएर, हौसला तथा प्रेरणा दिएर, उनीहरूलाई आदर गरेर सिकाउने प्रयास गरौँ । आदरसूचक शब्दहरूः तपाईँ, ज्यू, हजुर भनेर सम्बोधन गरौँ, जसले गर्दा उनीहरू सम्मानित भएको महसुस गरून् । उनीहरुलाई आफै सिक्न, प्रयोग गर्न दिऔँ । उनीहरूलाई मनपर्ने खेल खेलाउँदै सिकाऔँ, सकारात्मक सन्देश दिने लोककथाहरू भनाँै । उनीहरूको उमेर र रुचिलाई ख्याल गरौँ । उनीहरूलाई हाम्रो कुरा नलादाँै । हामीजस्ता बनून् वा फलाना जस्ता बनून् भनेर अपेक्षा नराखौँ । बालबालिकालाई तुलना गरेर अपमानित गर्ने काम पनि नगरौँ । कमजोर विद्यार्थीलाई ‘यसको काम छैन’ नभनौँ बरु ‘यसले गर्न सक्छ’ भनेर उत्साहित बनाऔँ । सिकाइमा गल्ती गर्नु स्वभाविक हो, गल्तीबाटै सिक्दै जाने हो, गल्ती नगरी दुनियाँमा कसैले सिक्नै सक्दैन भन्ने कुरा बुझौँ र बुझाऔ ।