आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औं जन्मदिन, यस्तो छ उनको जीवन

काठमाडौं, ७ असोज ।नेपाली साहित्यका मुर्धन्य ब्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट १०१ वर्षमा लागेका छन् । वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेको नेपाली साहित्यको क्षेत्रमा अनुकरणीय योगदान छ । जीवनको उत्तरार्धमा समेत कलम चलाइरहेका कवी घिमिरे सृजनाका खानी नै हुन् ।

घिमिरेले फुटकर कविता, खण्डकाव्य, गीतीनाटक, कथा, अनुवाद लेखनजस्ता साहित्यका विधामा कलम चलाएका छन् । बाल्यवस्थादेखिनै साहित्य लेखनमा सक्रिय घिमिरेले १०१ वर्षको उमेरमा पनि लेखनलाई निरन्तरता दिँदै आएका छन् । राष्ट्रकविका रुपमा सम्मानित घिमिरेले १४ वर्षको उमेरमा वि.सं. १९९२ सालको गोरखापत्रमा ज्ञानपुष्प शीर्षकमा पहिलो कविता प्रकाशित भएको थियो । घिमिरेका नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर–किन्नरी (२०३३) जस्ता कवितासंग्रह प्रकाशित छन् ।

वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक पदमा रही काम गरेका घिमिरे २००५ सालमा गोरखापत्रमै सह–सम्पादक समेत भए । घिमिरे वि.सं. २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए ।

‘गाउँछ गीत नेपाली’, ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखे सपना’ जस्ता कालजयी गीतका सर्जक घिमिरे वि.सं. २०१४ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भए । पछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञा प्रतिष्ठानमा सक्रिय रहे ।

उनको गौरी शोक काब्य नेपाली साहित्यमा विशिष्ट स्थान छ । नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनले सृजना गरेका प्रमुख पुस्तक हुन् ।

राष्ट्रकवि घिमीरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान दिइएको थियो । त्यस्तै वि.स.२०७५ मा महाउज्ज्वल पदकबाट उनी घिमिरे सम्मानित भए । वि.स.२०५४ सालमा हिमालपारि हिमालवारि, तथा २०५८ मा चारु चर्चाका लागि उनले साझा पुरस्कार प्राप्त गरे । उनलाई नेपाली सेनाको मानार्थ सहायक रथीका रुपमा पनि सम्मानित गरिएको छ ।

घिमिरे जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे । ११ वर्षको उमेरमा घरछाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् ।

वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो । त्यसैको शोकमा उनले गौरी नामक शोक काब्य रचना गरे जुन नेपाली साहित्यको उत्थानमा माइलस्टोन बन्यो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू संग्रहित छन् ।