प्रधानमन्त्रीको पछिल्लो परिक्षणका रिपोर्टहरु सुधारोन्मुख, स्वास्थ्य स्थिति स्थिर (अस्पतालको पछिल्लो विज्ञप्तिसहित)

काठमाडौं, १२ कात्तिक । टिचिङ अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा वलीको स्वास्थ्य स्थिति सुधारोन्मुख र स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पछिल्लो परिक्षणका रिपोर्टहरु सुधारोन्मुख छन् । अहिले साँझ ६ वजे अस्पतालले जारी गरेको विज्ञप्तिमा पछिल्लो परिक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको तथा स्वास्थ्य स्थिति स्थिर रहेको उल्लेख छ । वलीले दिउँसो साँढे चार बजे श्रीमती राधिका शाक्यले घरबाट लानुभएको सुप र एउटा रोटी खानुभएको थियो ।

प्रधानमन्त्री वलीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको थियो । स्वास्थ्य अवस्था विग्रिएपछि सोमवार विहान ४ ३० मा टिचिङ अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीलाई डा.अरुण सायमी ,डा.दिव्या सिंह र डा. सन्त कुमार दासले उपचार गरिरहनुभएको छ ।

प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ ।चिकित्सका अनुसार अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा छ भने सास फेर्न पनि सहज हुँदै गएको छ । तथापी, उनको छातीमा हल्का घ्यारघ्यार यथावत रहेको उनको स्वास्थ्य परीक्षणमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको थियो । अस्पतालले आइतबार विहान पहिलो रिर्पोट सार्वजनिक गर्दै उनको छातीमा संक्रमण हुनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको बताएको थियो । दिउँसो भने उनको अवस्थामा सुधार हुँदै गएको हो ।