बलात्कारजन्य अपराध बढ्दै गएपछि गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर महिला तथा सामाजिक समितिले लियो यस्तो एक्सन

काठमाडौं, ११ असोज । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेको छ । महिला तथा बालिकामाथि बलात्कारजन्य अपराध बढ्दै गएपछि समितिले महिला हिंसाको अवस्था र यसको अन्त्य कसरी गर्ने भन्ने विषयमा गृहमन्त्री, महिलामन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालयले हिंसा विरुद्ध कार्ययोजना बनाई अघि बढेको बताए । मन्त्रालयले गरेको कामको जानकारी दिँदै मन्त्री बादलले भने, ‘अब हामी स्थानीय तहबाटै अपराध बिरोधी आन्दोलन थाल्छौं । गृहमन्त्रालयले ८२ बुँदे कार्ययोजना बनाइ अपराध विरुद्ध अभियानको थालनी गरेका छौं ।’ मदिरा, ड्रग्स र इन्टरनेट सञ्जाल पनि महिलामाथि हुने हिंसाको कारक भएकोले यसको नियन्त्रण गर्न आवश्यक भएको मन्त्री थापाले बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले हत्या हिंसा बलात्कार भइरहेका ठाउँमा प्रशासन र जिम्मेवार निकायसँग बुझ्नै काम मन्त्रालयले गरिरहेको बताईन् । उनले बालिका दिनहुँ बलात्कारको सिकार हुनु चिन्ताको विषय भन्दै स्थानीय सरकारले विशेष भूमिका खेले यस्ता अपराध न्यूनिकरण हुने बताइन् । मन्त्रालयले दुई सय स्थानीय तहसँग महिला हिंसा सम्बन्धी अन्तरक्रिया र छलफल गरिसकेको बताउँदै अब देशभर सचेतनामूलक कार्यक्रम सुरुआत गर्ने पनि उनको भनाइ थियो ।

सोही कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ८५ प्रतिशत बलात्कारका अभियुक्तलाई पक्राउ गरेको दाबी गरे । उनले भने, ‘केही अपराधी फरार रहेकाले उनीहरुलाई पक्राउ गर्न तत्काल नसकेपनि प्रहरी अनुसन्धानमा प्रतिबद्ध भएर लागिरहेको छ ।’उनले जबरजस्ती करणीमा ६९ प्रतिशत घटना साथी र चिनजानका व्यक्तिबाटै हुने गरेको पाइएको पनि बताए । देशका ७७ वटै जिल्लामा प्रहरीले महिला तथा बालबालिका सेन्टरको स्थापना गरेर महिला हिंसाका घटनाबारे काम गरिरहेको उनले जानकारी गराए । महिला तथा सामाजिक समितिका सभापति निरु पालले बलात्कारपछिको हत्याले बालिकालाई जोगाउन मुस्किल भएको भन्दै अब मन्त्रालय र सरोकारवालाले कसरी अघि बढ्ने भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताईन् ।

५ महिनामा करिब ७ हजार महिला हिंसा

गृह मन्त्रालयले २०७५ साल बैशाखदेखि ५ महिनाको अवधीमा ६ हजार ९ सय ८ महिला हिंसाका घटना दर्ता भएको जनाएको छ । देशभर प्रहरी कार्यालय र मन्त्रालयमा यी मुद्धा दर्ता भएका हुन् । जसमा ७ सय १० वटा जबरजस्ती करणीका घटना भएका छन् । भने ३ सय ९१ वटा जवरजस्ती करणी उद्योगका घटना भएको जनाएको छ । यस्तै बहुविवाह ३ सय ४०, बालविवाह ४०, घरेलु हिंसा ५ हजार ४ सय १७ र अवैध गर्भपतनका १० वटा घटना ५ महिनाको अवधीमा भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । यो तथ्याङकले महिला हिंसाका घटना विगतको भन्दा १० प्रतिशत बढेको देखाउने गृहमन्त्रालयका सचिव प्रेम राईले बताए । मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यलयसँग समन्वय गरिरहेको राइले भने, ‘जबरजस्ती करणीका घटनाले भयावह स्थिती सार्वजनिक गरेको छ ।’