सूर्यविनायक नगरपालिकामा १३ वटा शीर्षकमा निःशुल्क सेवा पाइने

भक्तपुर,३ भदौं । सूर्यविनायक नगरपालिकाले नागरिकहरुलाई प्रदान गर्दै आएको विभिन्न १३ शीर्षकमा निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । स्थानीय तहले विभिन्न शीर्षकमा कर उठाउन थालेको समाचार सार्वजनिक भइरहँदा नगरपालिकाले भने नागरिकता सिफारिस, नाबालक परिचयपत्र सिफारिस, आदिवासी जनजाति, दलित, आर्थिक अवस्था कमजोर, विपन्न वर्ग, अपाङ्गता सम्बन्धी सिफारिस निःशुल्क गर्ने भएको छ ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयमा गरिने स्वास्थ्य उपचार सिफारिस तथा जेष्ठ नागरिकरविपन्न वर्ग उपचार सिफारिस, अदालतमा कोर्ट फि मिनाहा सिफारिस गर्दा समेत नगरपालिकाले कुनैपनि शुल्क लिनेछैन । विद्यार्थीहरुका निम्ति छात्रबृत्ति सिफारिस, नक्सापास सर्ज्मिन, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइ सराइ दर्ता तथा सम्बन्ध विच्छेदमा समेत कुनै पनि शुल्क नलाग्ने नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए । उनले भने, ‘सूर्यविनायक नगरपालिकाले कुनैपनि सेवामा कर बृद्धि गरेको छैन, बरु जनताको सुविधाको निम्ति विगतमा उठाउँदै आइएको करलाई मिनाह गर्ने निर्णय गरेका छौं ।’ उनले सूर्यविनायक नगरपालिकाले उठाउँदै आएको करका बारेमा कुनैपनि भ्रम नपाल्न समेत नगरवासीलाई अनुरोध गरेका छन् ।

‘विगत केही समययता नगरपालिकाले उठाएको करका बारेमा विभिन्न भ्रमहरु सिर्जना गर्ने काम भइरहेका छन् हामी कुनैपनि हालतमा जनताको ढाड सेक्ने काम गर्दैनौं’, थापाले अनन्त सन्देशसँग भन्नुभयो ।

व्यक्तिगत घटनाहरु समयमा नै दर्ता गर्नको निम्ति नागरिकहरुलाई प्रेरित गर्ने उद्देश्यले जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइ सराइ दर्ता तथा सम्बन्ध विच्छेद जस्ता घटनाहरु ३५ दिनभित्र दर्ता नगरेमा भने ५० रुपैयाँ जरिवाना लाग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।